© २०२३
सुनवल, २० असोज ।
पश्चिम नवलपरासीको सुनवल–१३ बडेरामा तेस्रो लोक सांस्कृतिक, धार्मिक पर्यटन तथा व्यापार महोत्सव हुने भएको छ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नवलपरासीको आयोजनामा यही असोज २३ देखि कात्तिक २ गते सम्म महोत्सव हुन लागेको हो ।
प्रतिष्ठानले लोक संस्कृतिको जगेर्ना मार्फत नवलपरासीका पर्यटकीय तथा धार्मिक स्थलको प्रवद्र्धन गर्दै लोक सांस्कृतिक सङ्ग्रहालय निर्माण गर्न महोत्सव गर्न लागिएको जानकारी दिएको छ ।
प्रतिष्ठानका अध्यक्ष श्यामकला भण्डारीले निर्माणाधीन सङ्ग्रहालयका लागि बजेट अभाव भएका कारण महोत्सव मार्फत रकम सङ्कलन गर्ने लक्ष्य लिइएको जानकारी दिइन् । प्रतिष्ठानले सुनवल– ११ मामिसतिसावरीयामा लोक सांस्कृतिक सङ्ग्रहालय निर्माण सुरु गरेको छ ।
जसका लागि प्रदेश सरकारले बिस लाख बजेट समेत चालु आर्थिक वर्षका लागि विनियोजन गरेको छ । पछिल्लो समय मेला–महोत्सवको नाममा विकृति बढ्दै गएको भन्दै संस्कृतिको जर्गेना गर्ने र स्थानीय कला संस्कृति मार्फत पर्यटन प्रवर्द्धन गर्ने समेत उद्देश्य लिइएको कार्यक्रम संयोजक राजकुमार श्रेष्ठले बताए ।
महोत्सवमा लोक दोहोरी प्रतियोगितालाई मुख्य आकर्षणको रूपमा राखिएको छ । मौलिकतामा आधारित खुला लोकदोहोरी प्रतियोगिता महोत्सव अवधिभर सञ्चालन हुने उनले बताए । प्रतियोगितामा एक लाख पुरस्कार राशि राखिएको छ ।
महोत्सवमा एक सय स्टल रहने छन् भने टिकट दर एक सय रुपैयाँ राखिएको छ । वृद्ध वृद्धालाई भने निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको आयोजकले जनाएको छ ।
स्थानीय कलाकार सँग चर्चित राष्ट्रिय लोकदोहोरी गीतका कालाकारलाई मुख्य प्राथमिकता दिएर महोत्सव सञ्चालन गर्ने सांस्कृतिक कार्यक्रम संयोजक भरत कामुले बताए ।