© २०२३
शुक्रवार रातिदेखि परेको अविरल वर्षापछिको विपदमा परि आइतबार साँझसम्म ५२ जनाको ज्यान गएको छ । तीन दिनको मनसुनजन्य विपद्बाट इलाममा सबैभन्दा धेरै ३७ को ज्यान गएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।
अझै कति नागरिक सम्पर्कविहीन भएका छन् । उनीहरूको खोजी छिटो गर्नु आवश्यक छ । भारी वर्षापछिको बिपदमा परि एक दर्जन पुल क्षतिग्रस्त बनेका छन् । समस्यामा परेकाहरूको उद्धारका लागि जोखिमयुक्त ठाउँ ठाउँमा सुरक्षा निकाय, स्थानीय स्वयंसेवकहरू परिचालन गरिएको छ ।
अझै पनि पूर्वी नेपालमा जोखिमको अवस्था छ । नेपालबाट भारी पानी पार्ने प्रणाली बाहिरिए पनि जोखिम अझै कायमै रहेको भन्दै सतर्कता अपनाउन सरकारले आग्रह गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री सुशीला कार्कीले देशभर जारी अविरल वर्षा र त्यसबाट उत्पन्न बाढी पहिरो तथा डुबानको खतराबाट सजग रहन अपिल गर्नुभएको छ ।
साथै उहाँहरूले सङ्कटको यो घडीमा सिङ्गो देश बिपद प्रभावितहरूको साथमा रहेको भन्दै पीडित परिवारलाई सहानुभूति प्रकट गर्नुभएको छ । विपदमा धैर्यतापूर्वक चुनौतीको सामना गर्नु हामी सबैको कर्तव्य हो । साथै यो विपत्तिको घडीमा शीघ्र उद्धार र राहतका लागि राज्यदेखि नागरिक सबै स्तरबाट खटिनुपर्ने अवस्था आएको छ ।
भारी वर्षाका कारण देशको पूर्वी क्षेत्रमा जनजीवन बढी प्रभावित बनेको छ । इलाम सबैभन्दा बढी प्रभावित भएको छ । काठमाण्डौं उपत्यकामा समेत बाढीले सुकुम्वासी बस्तीका स्थानीयलाई अन्यत्र जान बाध्य पारेको छ । देशका धेरै राजमार्ग अवरुद्ध हुँदा विगत तीन दिनदेखि यात्रुहरू समस्यामा परेको सर्वविदितै छ ।
अव पहिरो र बाढीका कारण मानवीय क्षति बेहोरेका परिवारलाई तत्काल राहत र पुनर्स्थापनाको खाँचो छ । स्थानीय रेडक्रस र पालिकाहरूले प्रभावित परिवारलाई राहतको व्यवस्थापन गरे पनि अव दिगो व्यवस्थापनको खाँचो छ ।
हरेक वर्ष बाढी पहिरोको यही भयानक रूप दोहोरिइरहने भएकोले अव प्रकोप पूर्वको सचेतताका विषयमा नजर अन्दाज गर्नुहुँदैन भन्नेतर्फ हामी सबैको ध्यान जानै पर्दछ । घरबारविहीन भएका परिवार, मृतक परिवार, डुबानमा परेका खेतबारीहरू र प्रियजनहरू गुमाउनु परेको वा घाइते भएकाहरूको यो हृदय विदारक पीडा समग्र राष्ट्रको साझा चिन्ता हो ।
यो विपत्तिमा राज्यका सबै तहहरू, राजनीतिक तथा सामाजिक संस्थाहरूको शक्ति एकीकृत रूपमा युद्ध स्तरको उद्धार, राहत र पुनर्स्थापनामा केन्द्रित हुनु अत्यावश्यक छ । प्रकृतिको यो प्रकोप हाम्रो साझा राष्ट्रिय दुःखको घडी हो । सङ्कटको यो कठिन समयमा सरकार तत्काल राहत सामग्रीको वितरण, सुरक्षित आश्रय स्थलको व्यवस्था र स्वास्थ्य सेवाको प्रभावकारी सञ्चालनमा गम्भीर हुनु जरुरी छ ।
पीडित परिवारहरूलाई खाद्यान्न, औषधि, कपडा तथा आर्थिक सहायता तुरुन्त उपलब्ध गराइयोस् । हामी सबै नेपालीहरू आग्रह र पूर्वाग्रहभन्दा माथि उठेर यो विपत्तिलाई एकजुट भएर सामना गर्नुपर्दछ । घाइते भएकाहरूलाई निःशुल्क औषधी उपचारको व्यवस्था गर्नेतर्फ सरकारको ध्यान जाओस् ।
नागरिकको सुरक्षाको जिम्मा सरकारको भएकोले सरकारले प्रकोपबाट उत्पन्न विषम परिस्थितिको प्रभावकारी व्यवस्थापन गर्नु जरुरी छ । प्रकोप भएपछि त्यसको रोकथाम र नियन्त्रणको भन्दा पनि प्रकोप अगावैको सचेतता जरुरी छ ।
यो वर्ष मनसुन बाहिरिन समय लाग्ने भएकोले बाढी पहिरोको जोखिमका बिच सचेतता अपनाउने तर्फ ढिलाइ नहोस् । प्रभावित परिवारलाई सरकारले तत्काल राहत उपलब्ध गराओस् । धनजनको क्षति हुँदा मानिस आत्तिनु स्वाभाविक हो, तर यसलाई स्वीकार गरेर मनोवैज्ञानिक रूपमा आफूलाई बलियो बनाउनेतर्फ पीडित परिवारको ध्यान जाओस् । जे होस सरकारको पूर्व सतर्कताले ठुलो मानवीय क्षति रोकिएको छ ।
सरकारको पूर्व तयारीले पनि धेरै क्षति रोक्न सकिन्छ भन्ने विपद्को घटनाले पुष्टि गरेको छ । सरकार धन्यबादको पात्र भएको छ । अव सरकारको ध्यान घाइते भएकाहरूको उपचार, राहत र पुनर्स्थापनामा जाओस् । पीडित परिवारलाई सरकार भएको अनुभूति दिलाउन सुशीला कार्की नेतृत्वको यो सरकार सफल होस् ।