© २०२३
सुनसरी, १९ असोज ।
अविरल वर्षाका कारण सप्तकोशी नदीमा पानीको बहाव तीव्र रूपमा बढेपछि कोशी ब्यारेजका ५० ढोका खोलिएका छन् ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रवक्ता योगराज खतिवडाका अनुसार आइतबार बिहान ८ बजे नदीमा पानीको बहाव प्रति सेकेन्ड ३ लाख ३५ हजार क्यूसेक नापिएपछि ब्यारेजका ५६ ढोकामध्ये ५० वटा ढोका खोलिएको हो ।
यसअघि बिहान ७ बजे मापन गर्दा नदीको बहाव २ लाख ७१ हजार ३१० क्यूसेक पुगेको थियो, जसका कारण ३९ ढोका खोलिएको थियो । शनिबार राति ८ बजे पानीको बहाव १ लाख ९३ हजार ६० क्यूसेक रहेकाले त्यतिबेला १५ ढोका मात्रै खोलिएको थियो ।
प्रवक्ता खतिवडाका अनुसार पछिल्ला दुई दिनदेखिको लगातार वर्षाका कारण सप्तकोशीमा पानीको सतह तीव्र गतिमा बढिरहेको छ । यसअघि भदौ १७ गते उच्च बहावका कारण ब्यारेजका ३८ ढोका खोलिएका थिए । त्यसपछि केही दिन बहाव घटेको भए पनि अहिले पुनः बढ्न थालेको हो ।
कोशी ब्यारेजमा पानीको बहाव १ लाख ५० हजार क्यूसेक नाघेपछि खतराको संकेतस्वरूप रातो बत्ती बाल्ने प्रावधान छ । हाल तीनवटा रातो बत्ती बालिएको ब्यारेज कन्ट्रोल रुमले जनाएको छ ।