© २०२३
बुटवल, २८ मंसिर ।
चिसो मौसम र वायु प्रदुषणले रुपन्देहीमा श्वासप्रश्वासका विरामी बढ्न थालेका छन । रुपन्देहीका सरकारी तथा निजि अस्पतालमा उपचार गर्न आउनेमध्ये अधिकास बिरामीमा फोक्सोको समस्या देखिन थालेको चिकित्सकहरु बताउँछन् ।
‘अस्पतालमा आउनेमध्ये एक तिहाईमा श्वास प्रश्वासको समस्या छ’– लुम्बिनी प्रादेशिक अस्पतालका वरिष्ठ चिकित्सक डा नन्दु पाठकले भने । शरीरमा चाहिने शुद्ध हावा (अक्सिजन) लिने र अशुद्ध हावा (कार्वनडाईअक्साइड) फयाँक्ने महत्वपूर्ण अंग फोक्सोको ख्याल राख्नुपर्ने उनको तर्क छ । फोक्सोमा समस्या आउनुभन्दा पहिले सचेत हुनुपर्ने उनको सुझाव छ ।
सुख्खा खोकी लाग्ने, घ्यारघ्यार हुने लक्षण लिएर आउनेहरुको संख्या ह्वात्तै बढेको उनले बताए । डेंगुको समस्या कम भएसँगै अस्पतालमा ज्वरो नआएका दम र खोकीका बिरामी बढेको उनले बताए । वातावरण प्रदुषणका मुख्य कारण निर्माण, उद्योग, सवारी र पराल जलाउने जस्ता कारणले हुने भन्दै यसबाट जोगिन धुलोधुवाँमा हिड्दा मास्क अनिवार्य प्रयोग गर्नुपर्ने उनी बताउँछन् ।
फेसनका लागि भन्दा पनि सुरक्षाका लागि गुणस्तरीय मास्क लगाउन उनको सुझाव छ । कोभिड १९ संक्रमणकालपछि मानिसमा मास्क लगाउने सचेतना बढे पनि सही प्रयोग नभएको उनले बताए । लुम्बिनी प्रादेशिक अस्पतालमा दैनिक बिरामी थपिनेको संखया बढिरहेको उनको भनाई छ ।