© २०२३
नेपालगन्ज, १३ असोज ।
नेपालगञ्जस्थित प्रसिद्ध शक्तिपीठ बागेश्वरी मन्दिर यस वर्ष फूलपाती भित्र्याउने विशेष उल्लास र भव्यताले झन् झकिझकाउ देखिएको छ । सामान्यतया सुरक्षा निकायमार्फत मात्र हुने यो परम्परा यसपटक भने नयाँ शैलीमा मनाइयो । बाँकेका विभिन्न धार्मिक स्थलहरूबाट विधिपूर्वक साँस्कृतिक शोभायात्रा, बाजागाजा र झाँकीसहित ल्याइएका फूलपाती बागेश्वरीमा अर्पण गरियो ।
बिहान ८ बजेदेखि नै बाँकेका विभिन्न पालिकामा रहेका प्रसिद्ध मन्दिरहरूबाट फूलपाती निकालिएको थियो । राप्ती सोनारीको ऐतिहासिक भुवर भवानी मन्दिर, कोहलपुरको कालिका मन्दिर, खजुराको लक्ष्मी नारायण मन्दिर, नरैनापुरको सन्तनेश्वर मन्दिर लगायतका स्थानबाट आएको फूलपाती अन्ततः बागेश्वरी मन्दिरमा मूल महन्त चन्द्रनाथ योगी र अन्य पूजारीमार्फत अर्पण गरियो । सबैभन्दा पहिले नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले सलामीसहित फूलपाती भित्र्याए । त्यसपछि पालिकागत सांस्कृतिक झाँकीहरू बागेश्वरी प्रवेश गर्न थाले, जसले मन्दिर परिसरलाई साँच्चै उत्सवमय बनाइदियो ।
विभिन्न पालिकाबाट आएको झाँकी र सांस्कृतिक प्रस्तुतीले धार्मिक एकता र सांस्कृतिक विविधताको सन्देश फैलायो । दर्शकहरू मोहित भए, कतिपय त झाँकीसँगै नाचेर रमाइरहे । यस वर्ष पहिलोपटक ग्रामीण क्षेत्रमा रहेका धार्मिक स्थलहरूको पहिचान गराउने उद्देश्यसहित फूलपाती भित्र्याउने अभियानमा नाट्टा बाँके ले विशेष समन्वय गरेको थियो । नाट्टाका निवर्तमान अध्यक्ष श्रीराम सिक्देलले बागेश्वरी मन्दिरलाई धार्मिक सर्किटका रूपमा चिनाउने अभियानको यस वर्ष सुरुवत मात्र गरिदिएको र आगामी वर्ष सबै पालिकामा रहेका साना ठूला मन्दिरहरुबाट स्वस्फूर्त रुपमा आउन सक्ने विश्वास ब्यक्त गरे ।
राप्ती सोनारी गाउँपालिकाको भूवर भवानी मन्दिरबाट यसवर्ष पहिलोपटक फूलपाती अर्पण गरियो । भूवरभवानी मन्दिर परिसरबाट पञ्चेबाजा, थारु समुदायको सखिया नाच सहितको झाँकी बागेश्वरी मन्दिर पुगेको थियो । गाउँपालिका अध्यक्ष तप्त बहादुर पौडेलले यस कार्यले भूवर भवानी मन्दिरको ऐतिहासिक र सांस्कृतिक महत्त्व अझ फैलिएको बताए ।
यसपालि भक्तजनहरूको घुइँचो सहज, शान्तिपूर्ण र व्यवस्थित बनाउन समिति पूर्ण तयारीमा जुटेकाले फूलपाती भित्र्याउने कार्य सौहार्दपरुर्ण र सफल भएको बताए । उनले विभिन्न मन्दिरहरूबाट ल्याइएको फूलपातीको व्यवस्थापन दर्शनार्थीलाई सहज वातावरण बनाएको दावी गरे । यसरी विभिन्न मन्दिरबाट ल्याइएको फूलपातीले बागेश्वरी सहित बाँकेमा रहेका विभिन्न धार्मिकस्थलहरुलाई समग्र लुम्बिनी प्रदेशकै प्रमुख धार्मिक गन्तव्यका रूपमा चिनाउने अपेक्षा गरिएको छ ।