© २०२३
नेपालगन्ज, १२ असोज ।
बाँकेमा जेन–जी आन्दोलनको आडमा सरकारी तथा निजी संरचनामा आगजनी, तोडफोड र लुटपाट गर्ने व्यक्तिहरूको पहिचान गर्न प्रहरी सक्रिय भएको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेले आइतबार भर्खरै सरुवा भएर आएका नयाँ प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) अङ्कुर जिसीको परिचयात्मक कार्यक्रममा आन्दोलनको आडमा तोडफोड तथा लुटपाटमा संलग्न व्यक्तिको पहिचान गर्न छुट्टै युनिट खटाएको जानकारी दिएको हो ।
सामाजिक सञ्जाल (फेसबुक, टिकटक) मा अपलोड भएका भिडिओ र तस्बिरको आधारमा त्यस्ता व्यक्तिहरूको पहिचान गरिरहेको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) अङ्कुर जिसीले बताए । उनका अनुसार हालसम्म चार जना नियन्त्रणमा परिसकेका छन् ।
“अन्य व्यक्तिहरूको पनि पहिचान गर्ने प्रक्रिया जारी छ,” उनले बताए, “आन्दोलनको नाममा कतिपयले व्यक्तिगत रिसिइबी साँध्दै आपराधिक गतिविधि गरेका छन् ।” एसपी जिसीले घटनाको छानबिनका लागि सङ्घीय सरकारले जाँचबुझ आयोग गठन गरिसकेको जानकारी दिए ।
उनका अनुसार प्रहरी अभिलेखका लागि पनि अनुसन्धान गरिरहेको छ । “हामीले अभिलेख सङ्कलन गर्दछौँ, सामाजिक सञ्जालमा पाइएका भिडिओ र तस्बिरहरूले प्रमाण जुटाउन सजिलो भएको छ,” उनले भने ।
उनले आपराधिक कार्यलाई कुनै हालतमा माफी नदिइने स्पष्ट गर्दै भने, “अनुसन्धान गर्न कसैको निर्देशन आवश्यक छैन, अपराधलाई अपराधकै रूपमा लिइन्छ ।” आन्दोलनका कारण केही दिनसम्म नागरिकमा त्रासको वातावरण बनेको एसपी जिसीले उल्लेख गरे ।
उनका अनुसार अराजक समूहले आन्दोलनको आडमा वडा प्रहरी कार्यालय नेपालगन्जको मोबाइल भ्यान, इलाका प्रहरी कार्यालय कोहलपुरको वानटन गाडी, दुई वटा मोटरसाइकल, ट्राफिक प्रहरी कार्यालय नेपालगन्ज, इलाका प्रहरी कार्यालय जैसपुर र नेपालगन्ज भन्सार कार्यालयको प्रहरी बिटमा समेत आगजनी गरेका छन् ।
आन्दोलनकै बिच प्रहरीका उपलब्ध केही सवारी साधन काठमाडौँ पठाइएकाले पनि हाल बाँके प्रहरीसँग सवारी साधनको कमी भएको एसपी जिसीले बताए ।