© २०२३
बुटवल, ९ असोज ।
राजनीतिक परिवर्तनलाई संस्थागत गर्दै सामाजिक सदभाव कायम गर्नुपर्नेमा वक्ताहरूले जोड दिएका छन् ।
नेपाल औषधी व्यवसायी सङ्घ, रुपन्देही जिल्ला शाखाले विजयादशमी, शुभ दीपावली, छठ पर्व–२०८२ तथा नेपाल संवत् ११४६ को अवसरमा आयोजना गरेको शुभकामना कार्यक्रममा बोल्दै उनीहरूले युवाहरूको बलिदानी र योगदानलाई सम्मान गर्ने गरि अगाडि बढ्न आवश्यक रहेको बताए ।
कार्यक्रममा लुम्बिनी प्रदेश अध्यक्ष लुकराज न्यौपानेले व्यवसायीलाई आचारसंहिता पालना गर्दै पेसालाई व्यवस्थित बनाउनुपर्नेमा जोड दिए । सङ्घका जिल्ला अध्यक्ष खड्ग बस्नेतले व्यवसायीलाई एकताबद्ध गर्दै अधिकार सुनिश्चिततामा लाग्नुपर्ने बताए ।
उनले सङ्घमा आबद्ध व्यवसायीहरू आचारसंहिता पालना गर्दै पेसालाई व्यवस्थित रूपमा अघि बढाउन जरुरी रहेको भन्दै व्यावसायिक हकहितसँगै रचनात्मक कार्यक्रमलाई जोड दिने उनले बताए ।
कार्यक्रममा लुम्बिनी प्रदेशका निवर्तमान अध्यक्ष शिव ज्ञवालीले सामाजिक सदभाव कायम गर्दै अघि बढ्नुपर्नेमा जोड दिएका थिए । सङ्घका केन्द्रीय उपाध्यक्ष तथा विशेष सल्लाहकार सुनिल श्रेष्ठले राजनीतिक परिवर्तन भए पनि विचारमा अझै परिवर्तन आवश्यक रहेको बताए ।
कार्यक्रममा लुम्बिनी प्रदेश सङ्घका निवर्तमान अध्यक्ष सुरज भट्टराई, सङ्घका खुद्रा उपाध्यक्ष नारायण थापा, महासचिव कृष्ण पोखरेलले सरोकारवाला संस्थाहरू विगतमा भएका कमीकमजोरीहरूलाई हटाउँदै एकताबद्ध भएर अघि बढ्नुपर्ने बताए ।
यसैबिच, सङ्घको तर्फबाट नवनिर्वाचित पिन लुम्बिनी अध्यक्ष राजु भण्डारी र एनएमएसआर अध्यक्ष हुमनाथ पाण्डे (अर्जुन) लाई शुभकामना तथा बधाईसमेत दिएको छ ।