© २०२३
गुल्मी, ९ असोज ।
गुल्मीको मदाने गाउँपालिकामा गए राति परेको चट्याङका कारण ४ वर्षीया बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा मदाने गाउॅपालिका –५, झ्यानपानी निवासी स्थानीय नेर सिंह विककी चार वर्षीया छोरी रियासा विक रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी गङ्गा बहादुर सारूले जानकारी दिएका छन्।
चट्याङका कारण उनको घटनास्थलमै ज्यान मृत्यु भएको हो । चट्याङले उनका बुवा नेरसिंह विक र आमा सुन्तली विक घाइते भएका छन्। घरमा सुतिरहेको अवस्थामा परेको चट्याङ लागेर नेर सिंह विकको छाती र पेटमा निल डाम लागेको छ भने श्रीमती सुन्तली विकको पेट र दायाँ खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ।
घाइते दम्पतीलाई प्रारम्भिक उपचारका लागि स्थानीय स्वास्थ्य संस्थामा लगिएको र त्यहॅा उपचार हुन नसकेपछि थप उपचारका लागि जिल्ला अस्पताल प्युठान पठाइएको छ।
घटनाको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय पुर्कोटदहबाट प्रहरी निरीक्षक रेवन्त वलीको नेतृत्वमा टोली बिहानै घटनास्थल पुगिसकेको छ । घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।