© २०२३
रोल्पा, २७ मंसिर ।
ग्त मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा प्रतिस्पर्धा गरेका १४ मध्ये ८ उम्मेदवारले निर्वाचनको खर्च विवरण पेश गरेका छन । हालसम्म प्रतिनिधि सभाका ५ मध्ये ४ र प्रदेश सभाका ९ मध्ये ४ उम्मेदवारले खर्च विवरण पेश गरेको जिल्ला निर्वाचन कार्यालय रोल्पाले जानकारी दिएको छ ।
प्रतिनिधि सभामा नेकपा माओवादी केन्द्रबाट वर्षमान पुन, नेकपा एमालेबाट पूर्ण वुढामगर, राप्रपा नेपालबाट रामवहादुर वलीक्षेत्री, राप्रपाबाट लीला रावल र नेपाल मजदुर किसान पार्टीका नातीभाइ ह्योम्बोले प्रतिस्पर्धा गरेका थिए ।
प्रतिनिधि सभा सदस्य निर्वाचनमा नेकपा माओवादी केन्द्रको उम्मेदवार बनी विजयी भएका वर्षमान पुनले १४ लाख ७४ हजार ७८० रुपैयाँ खर्च गरेको विवरण पेश गरेका छन् । पुनका प्रतिनिधि भानवहादुर घर्ती मगरले गतमंसिर १२ गते निर्वाचन खर्च विवरण पेश गरेका हुन ।
पुनको निर्वाचन खर्च विवरणमा सवारी साधनमा ५ लाख ५९ हजार, कार्यकर्ता परिचालनमा ३ लाख ८० हजार ५८०, छापा एवम् विद्युतिय माध्यममा ४ लाख ३९ हजार २०० र प्रतिनिधि परिचालनमा ९६ हजार खर्च भएको उल्लेख गरिएको छ ।
जिल्ला निर्वाचन कार्यालय रोल्पामा प्रतिनिधि सभा सदस्यमा प्रतिस्पर्धा गरेका अन्य ३ जना उम्मेदवारले समेत खर्च विवरण पेश गरेका छन । खर्च विवरण पेश गर्नेहरुमा नेकपा एमालेका पूर्ण वुढामगर, राप्रपा नेपालका रावहादुर वली क्षेत्री र नेपाल मजदुर किसान पार्टीका नाती भाई ह्याम्वो रहेका छन ।
नेकपा एमालेका उम्मेदवार वुढाले ३ लाख १९ हजार ५०० खर्च विवरण पेश गरेका छन । राप्रपा नेपालका वली क्षेत्रीले १ लाख ५ हजारको खर्च विवरण पेश गर्दा नेपाल मजदुर किसान पार्टीका उम्मेदवार ह्याम्वोले शुन्य खर्च विवरण पेश गरेका छन् ।
प्रदेश सभा (१) मा नेकपा एमालेबाट कमल वुढाथोकी, राप्रपा नेपालबाट गंजवहादुर शाही , नेकपा माओवादी केन्द्रबाट जोखवहादुर महरा र राप्रपावाट पदमवहादुर थापाले प्रतिस्पर्धा गरेका थिए ।
प्रदेश सभा (२) मा नेपाली काँग्रेसबाट अमरसिंह पुन, राप्रपाबाट केशरवहादुर पुन, स्वतन्त्रवाट दीपेन्द्रकुमार पुनमगर, नेकपा एमालेबाट प्रेमवहादुर घर्तीमगर र राप्रपावाट सेते दमाईले प्रतिस्प्र्धा गरेका थिए ।
प्रदेश सभामा प्रतिस्पर्धा गरेका ९ मध्ये ४ जनाले मात्रै खर्च विवरण पेश गरेका छन । यसरी खर्च विवरण पेश गर्नेहरुमा नेकपा माओवादी केन्द्रका महरा, नेपाली काँग्रेसका पुन, राप्रपा नेपालका शाही र पुन रहेका छन ।
नेकपा माओवादी केन्द्रका महराले १० लाख ८६ हजार ५०० को खर्च विवरण पेश गरेका छन । उनी लोकतान्त्रिक वाम गठवन्धनको साझा उम्मेदवारको रुपमा रोल्पा प्रदेश सभा १ वाट उम्मेदवार वनी विजयी भएका थिए ।
नेपाली काँग्रेसका उम्मेदवार पुनले ६ लाख १७ हजार १६२ को खर्च विवरण पेश गरेका छन् । उनी लोकतान्त्रिक वाम गठवन्धनको साझा उम्मेदवारको रुपमा रोल्पा प्रदेश सभा २ वाट प्रतिस्पर्धा गरी स्वतन्त्र उम्मेदवार दिपेन्द्र पुन संग पराजित भएका थिए ।
खर्च विवरण पेश गर्ने अन्य उम्मेदवारहरुमा रोल्पा प्रदेश सभा १ वाट राप्रपा नेपालका गंजवहादुर शाही र प्रदेश सभा २ मा सोही पार्टीका केशरवहादुर पुन रहेका छन । शाहीले ७५ हजार ६०० र पुनले ८० हजार ७०० को खर्च विवरण पेश गरेका छन ।
जिल्ला निर्वाचन कार्यालय रोल्पाका अनुसार प्रदेश सभामा प्रतिस्पर्धा गरेका नेकपा एमालेका कमल वुढाथोकी र प्रेम घर्तीमगर, राप्रपावाट प्रतिस्पर्धा गरेका पदमवहादुर शाही र सेते दमाई तथा स्वतन्त्रवाट प्रतिस्पर्धा गरेका दीपेन्द्र पुन मगरले निर्वाचन खर्च विवरण पेश गर्न वाँकी रहेको छ ।