© २०२३
मुलुकको ध्यान अहिले जेनजी आन्दोलनले ल्याएको राजनीतिक परिवर्तन र देशले तय गर्ने आगामी बाटोको विषयमा केन्द्रित छ । खासगरी जेनजी आन्दोलनका क्रममा भएको ठूलो मानवीय र भौतिक क्षतिले मुलुक आक्रान्त बनेको छ ।
देशले अकल्पनीय क्षति ब्यहोरेको वर्तमान परिवेशमा शान्ति सुरक्षाको जिम्मा लिएको प्रहरी प्रशासनको ध्यान क्षति भएका भौतिक संरचनाको लेखाजोखातर्फ केन्द्रित भएको छ । साथै प्रदर्शनका क्रममा अराजक र आपराधीक तत्वको संलग्नताको पहिचानतर्फ अहिले प्रहरी प्रशासन त्यसतर्फ केन्द्रित भएको छ ।
मुलुकको प्रशासन संयन्त्रको ध्यान एकातर्फ गैरहेको बेला मौकाको फाईदा उठाउने अर्को अबाञ्छित तत्वले मानव बेचबिखनको घटनाको फाईदा उठाउन सक्छन । तसर्थ यो बिषयमा पनि प्रशासनिक संयन्त्रको ध्यान जानु जरुरी छ ।
मानव ओसारपसार तथा बेचबिचनको घटना यस्तै बेला जुर्मुराउने विगतदेखिको इतिहास उदाहरण छन । मुलुकभर जेनजी आन्दोलन र त्यसको प्रभावका बिषयमा चर्चा परिचर्चा भैरहँदा मुुलुकले चिन्ता गर्नैपर्ने अर्को पाटो मानव बेचबिखन र ओसारपसारसंग जोडिएको गंभीर समस्याको विषयमा चर्चा गर्नु श्रेयष्कर हुनेछ ।
२००२ मा काठमाण्डौमा आयोजित दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को एघारौ शिखर सम्मेलबाट महिला तथा बालबालिका बेचबिखन विरुद्धको सार्क महासन्धी २००२ पारित गरिएको थियो । यो महासन्धी नेपाल सरकारले बिक्रम सम्बत २०६३ साल भदौ २० गते तत्कालीन व्यवस्थापिका संसदबाट अनुमोदन गरेको पाईन्छ ।
सबैभन्दा पहिले त आम मानिसले मानव बेचबिखन तथा ओसारपसार भनेको केहो भनेर बुझ्न आवश्यक देखिन्छ । मानव अधिकार तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ ले चार वटा विषयका क्रियाकलाप भयो भने मानव बेचबिखन भयो भनेर बुझ्नुपर्छ भनि स्पष्ट पारेको छ ।
कुनैपनि उद्देश्यले मानिसलाई किन्ने वा बेच्ने,कुनै प्रकारको फाइदा लिई वा वेश्यावृत्तिमा लगाउने, प्रचलित कानुन बमोजिम वाहेक मानिसको अंग झिक्ने काम र वेश्यागमन गर्ने समेतलाई कानुनी भाषामा मानव वेचविखनको परिभाषा मानिएको छ ।
नेपाल प्रहरी मानव बेचविखन अनुसन्धान ब्युरोको प्रतिवेदन अनुसार अवैध लागु औषध र हातहतियारको कारोवार पछि विश्वमा तेस्रो ठूलो संगठित अपराधको रूपमा मानव बेचबिखन तथा ओसारपसार देखिएको छ । विशेषगरि यो अपराधबाट महिला, बालबालिका र किशोरीहरू विभिन्न वाहानामा अत्याधिक रूपमा पीडित भएको देखिन्छ ।
पछिल्लोसमय वयस्क (युवा) पुरुषहरू पनि बैदेशिक रोजगारका नाममा श्रम शोषणबाट पीडित भएको पाईन्छ । नेपालबाट भारत, खाडी मुलुक, अफ्रिकन देशहरू, युरोपियन तथा अमेरिकन देशहरूमा विभिन्न प्रकृतिका मानव बेचविखन तथा ओसारपसार सम्बन्धी अपराधहरू भइरहेका छन् । मानव बेचविखन तथा ओसारपसार मानवता विरुद्धको जघन्य अपराध हो ।
शुरुका दिनमा मानव बेचविखन दास, बँधुवा श्रमिक र यौन दासीका रूपमा मात्र सीमित रहेको देखिन्छ । बर्तमान अवस्थामा प्रविधिको विकाससंगै मानव बेचबिखनको स्वरूप पनि फेरिदै गएको यस क्षेत्रमा काम गर्ने संघ संस्थाका प्रतिनिधिहरू बताउँछन ।
नयाँ तरिकाबाट जस्तो महिलाको डिम्व निकाल्ने, मृगौला लगायतका मानिसहरूको अंग निकाल्ने व्यवसायका लागि पनि खरिदबिक्री भईरहेको छ । यतिमात्र कहाँ हो र हिजोआज पनि बालबालिका बलि दिनका लागि भनेर अपहरण गरि बाटोमा लैजाँदै गर्दा छोपिएका घटनाहरू पनि भेटिने गरेका छन् ।
विगत र अहिलेको परिवेशलाई अध्ययन गर्दा पहिले शिक्षा र चेतनाको कमीले आर्थिक प्रलोभन देखाएर महिला, बालबालिका वा मानिसहरू बेचविखनको जालोमा पर्ने गर्थे । अहिले पढेलेखेका शिक्षित महिला, किशोरी, युवा जो सम्पन्न परिवारका पनि किनबेचमा परेको अवस्था छ ।
नेपालमै कमाईरहेको तर विदेशमा अझै राम्रो कमाई हुन्छ भन्ने नाममा जाने त्यहाँ पुगिसकेपछि श्रम तथा यौन शोषणमा परेका र अध्ययन भिसामा पढ्न भन्दै विदेश जाने प्रवृत्तिले जानाजानी ठगिने बेचिने कार्य बढ्दो देखिन्छ ।
यसैले बर्तमान परिवेशका घटनाहरू केलाउँदा कुनैपनि परिवार, वर्ग, समुदायको मानिस बेचबिखनबाट अछुतो रहन सक्दैन भन्ने पुष्टि हुने गरेको छ । जसले गर्दा जो जहिले र कुनैपनि अवस्थामा बेचबिखनमा पर्न सक्ने अवस्था रहेको पनि अधिकारकर्मीको तर्क रहेको छ ।
विशेषगरी नेपाल भारतका खुल्ला सिमानाले गर्दा नेपाली छोरीहरू रोजगार लगायत विभिन्न वहानामा भारततर्फ लाने क्रम बढी देखिन्छ । रूपन्देही जिल्लाको बेलहीया नाका मानव वेचबिखन तथा ओसारपसारको मुख्य नाकाका रूपमा मानिन्छ ।
बुटवलबाट दिल्लीसम्मका बस डाइरेक्ट छुट्ने गर्छन । पूर्व पश्चिम पहाडि जिल्लाहरूबाट गरिवीको फाईदा उठाउँदै बैदेशिक रोजगारीको नाममा बुटवल ल्याउने, दोस्रो मुलुक भारतसम्म लैजाने, कतिपय भारतमै र कतिपयलाई त्यहाँबाट तेस्रो मुलुकसम्म लगेर आफन्तहरूबाटै कयौं महिला तथा बालबालिकाहरू पीडित भएका छन् ।
त्यसो त नेपालभित्रै पनि विभिन्न स्थानमा रोजगार दिने र लगाईदिने निहुँमा लैंगिक हिंसा, दुव्र्यवहार र यौन तथा श्रम शोषणमा पार्ने काम भईरहेको पाईन्छ । यसरी पीडित हुनेमा प्रविधिको विकाससंगै किशोरीहरू सामाजिक संजाल मार्फत सामान्य चिनजान भई विवाहको वहानामा भारततर्फ लगिएको बढी मात्रामा पाईन्छ ।
यस्तै अनलाईन गेम खेल्दा कुराकानी हुने, कुराकानीका क्रममा राम्रो काम लगाईदिन्छु भनेर अपराधीले फसाउने गरेका घट्नाहरू पनि प्रशस्त मात्रामा भेटिन्छन् । युवा लक्षित नेटवर्किङ व्यवसायमा संलग्न भई मनग्य आम्दानी गर्ने लोभमा अपरिचित व्यक्तिले काम लगाईदिने वहाना, बैदेशिक रोजगारीका लागि जादै गर्दा सुरक्षित यात्राको पुष्टि गर्ने कागजातहरू नपुग्ने, मनोरञ्जन तथा आर्केस्ट्रामा काम गर्ने भन्दै महिला र युवाहरू ठगिएका छन् ।
मानव बेचबिखन विरुद्ध काम गर्ने संस्था तथा प्रहरीमा आएको उजुरी सम्बन्धी अध्ययन गर्दा लैंगिक हिंसा, बालविवाह, सम्बन्धविच्छेद, एकल, गरिवी तथा भेदभावबाट प्रभावित महिला तथा किशोरीहरू बढी मात्रामा बेचबिखनबाट प्रभावित भएको देखिन्छ ।
पछिल्लोसमय मानव बेचविखन एक गम्भीर सामाजिक समस्याका रूपमा देखिएको छ । नेपालमा मानव वेचविखन तथा ओसारपसार नियन्त्रणका लागि सरकरी तथा गैरसरकारी संस्थाहरूले विभिन्न प्रयास गरेका छन् ।
नेपाल सरकारले मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन २०६४ निर्माण गरि कार्यान्वयनमा ल्याएको छ । ऐन कानुनदेखि विभिन्न सचेतनामूलक कार्यक्रमहरू गरिरहेपनि मानव बेचबिखन सम्बन्धी आपराधिक घटनाहरू स्वरूप फेरिदै घटिरहेको पाईन्छ ।
पिडकले सजाय र पीडितले न्याय पाउने वातावरणमा आफन्तनै वाधक बनेको भन्दै यस क्षेत्रमा कार्यरत अधिकारर्कीहरू गुनासो गर्दछन् । बेचविखनमा परेको हो वा पार्न लागिएको हो भन्ने थाहा हुदैपनि प्रायः प्रहरीमा समेत उजुरी दिनबाट वञ्चित हुनुपरेको अवस्था पनि देखिन्छ ।
जिल्ला प्रहरी कार्यालय रूपन्देहीको तथ्यांक अनुसार मानव वेचविखन तथा ओसारपसार सम्बन्धी आर्थिक वर्ष २०७९/८० मा ७, २०८०/८१ मा ५ र २०८१÷८२ को भदौ १७ गतेसम्म ३ वटा घटना दर्ता भएका छन् । समुदायमा जति मानव बेचबिखनका घटनाहरू भईरहेका छन् । त्यति नै रूपमा प्रहरीसम्म पुग्न नसकेको यो तथ्याकंले देखाउँछ ।
मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन २०६४ को परिच्छेद ४ मा दण्ड सजाय तथा क्षतिपूर्ति सम्बन्धी व्यवस्था गरिएको छ । जस अनुसार मानिस किन्ने वा बेच्नेलाई बीस वर्ष कैद र दुई लाख रूपैयाँ जरिवाना, कुनै प्रकारको फाइदा लिई वा नलिई वेश्यावृतिमा लगाउनेलाई कसुरको मात्रा अनुसार पन्ध्र वर्ष सम्म कैद र पचास हजार रूपैयाँदेखि एक लाख रूपैयाँसम्म जरिवाना हुनेछ ।
यस्तै प्रचलित कानुन बमोजिम बाहेक मानिसको कुनै अंग झिक्नेलाई दश वर्ष कैद र दुई लाख रूपैयाँदेखि पाँच लाख रूपैयाँसम्म, वेश्यागमन गर्नेलाई एक महिनादेखि तीन महिनासम्म कैद र दुई हजार रूपैयाँदेखि पाँच हजारसम्मको जरिवाना तोकिएको छ ।
किन्न, बेच्न वा वेश्यावृत्तिमा लगाउने उद्देश्यले मानिसलाई विदेश लैजानेलाई दश वर्षदेखि पन्ध्र वर्षसम्म कैद र पचास हजार रूपैयाँदेखि एक लाख रूपैयाँसम्म, बालबालिका लगेको भए पन्ध्र वर्षदेखि बीस वर्षसम्म कैद र एक लाख रूपैयाँदेखि दुई लाख रूपैयाँसम्म जरिबाना तोकिएको पाईन्छ ।
नेपालभित्रको एक ठाउँबाट अर्को ठाँउमा लैजानेलाई दश वर्ष कैद र पचास हजार रूपैयाँदेखि एक लाखसम्म जरिवाना र बालबालिका लगेको भए दश वर्षदेखि बाह्र वर्षसम्म कैद र एक लाख रूपैयाँसम्म जरिवाना तोकिएको छ ।
शोषण गर्ने उद्देश्यले नेपाल भित्रको एक ठाउँबाट अर्को ठाउँमा लैजानेलाई एक वर्षदेखि दुई वर्षसम्म कैद र विदेश लगेको भए दुई वर्षदेखि पाँच वर्षसम्म कैद लगायतका पिडकलाई सजायको व्यवस्था गरिएको छ ।
यसरी नेपालमा मानव बेचबिखन तथा ओसारपसार गरेमा नेपालको कानुनले पिडकलाई कडा सजायको व्यवस्था गरेको देखिन्छ । नेपालबाट भारत जानका लागि करिव ७० किलोमिटर यसै क्षेत्रमा पनि खुल्ला सिमाना हुनु, मानिस आफैले उच्च जीवनशैली अपनाउने रहर गर्नु, अध्ययन र कामका लागि विदेश रोज्नु, गरिवी लगायत मानव बेचविखन तथा ओसारपसारका घटनाका कारण रहेका छन् ।
विशेषगरी नेपालको कानुन बलियो भएपनि राजनीतिक संरक्षण गर्ने, पिडक पक्षले पीडित पक्षलाई आर्थिक लोभलालच देखाउने लगायत अनेकौ वहानामा पिडकलाई सजाय भन्दा उन्मुक्ति पाउने कार्यको बढावा पाईरहेको देखिन्छ ।
यस कारण जतिसुकै मानव बेचबिखन तथा ओसारपसारका घटनाहरूको नियन्त्रण गर्ने पहल गरेपनि कार्य सम्पादनमा चुनौती देखिएको छ । त्यसो त नेपाल प्रहरी लगायत सरकारी कार्यालय र सामाजिक संस्थाहरूले आफ्नो तरिकाबाट जनचेतनामुलक कार्यक्रम गर्ने, पिडितको पहिचान गर्ने, उद्धार, कानुनी तथा स्वास्थ्य उपचार र परिवारमा पुनर्मिलन लगायतका कार्यहरू प्रभावकारीरूपमा भएको पाईन्छ ।
अहिलेपनि रूपन्देहीको परिवेशमा स्थानीय सरकार, नेपाल प्रहरी, माइती नेपाल, आफन्त नेपाल, आशिष सामाजिक नेपाल, शुभ अवसर ग्राम, साना हात लगायतका संस्थाहरूको सहकार्यमा मानव बेचबिखन विरुद्धका अभियानहरू संचालन तथा यस सम्बन्धी घटनाहरूको व्यवस्थापन गर्ने कार्य गरिएको देखिन्छ ।
विशेषतः मानव बेचबिखन तथा ओसारपसारका क्रियाकलापलाई रोकथाम गर्न समुदायस्तरबाटै यस वर्षको नारामा भनिएजस्तै तीनै तहका सरकार, नेपाल प्रहरी, सरकारी तथा गैरसरकारी संघ संस्थाहरू, मिडिया र समुदायका अगुवाहरूको सहकार्यमा जनचेतना फैलाउने कार्यलाई प्रभावकारी बनाउन आवश्यक छ ।
अहिले रूपन्देहीको परिवेशमा मानव बेचबिखन विरुद्धको अभियानमा काम गर्ने सामाजिक संस्थाहरू भारत र नेपालको सिमाना केन्द्रित कार्यक्रम मात्र संचालन गरेको पाईन्छ । विभिन्न प्रलोभनमा परेर वा पारेर सिमानासम्म पु¥याउने वा पुग्ने समुदायकै मानिस भएको हुनाले मानव बेचबिखन बिरुद्धको अभियान पनि समुदाय केन्द्रित हुन आवश्यक देखिन्छ ।