© २०२३
नेपालगञ्ज, ४ असोज ।
खसी खरिद गर्ने विषयमा उत्पन्न विवाद कुटपिटमा परिणत हुँदा नेपालगन्जमा एक जनाको ज्यान गएको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार, नेपालगन्ज–५ का ३५ वर्षीय जाबिर अलि बेहना शुक्रवार निधन भएको हो । खसी खरिदका क्रममा नजिकका आफन्तबीच भएको सामान्य विवाद चर्किँदै गएपछि आपसी कुटपिटमा घाइते बनेका जाबिरलाई उपचारका लागि भेरी अस्पताल लगिएको थियो ।
तर, उपचारकै क्रममा दिउँसो दुई बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरी नायब उपरीक्षक तथा जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता दीपक पातलीका अनुसार, सो घटनामा संलग्न भएको आरोपमा मुस्ताक अलि बेहना, इसराक अलि बेहना, चाँद बाबु बेहना र सेराज अलि बेहनालाई नियन्त्रणमा लिई अनुसन्धान अघि बढाइएको छ । “घटना प्रारम्भमा सामान्य विवाद थियो, तर उग्र रूप लिएपछि यो दुःखद परिणाम आयो,” उनले भने ।
मृतक जाबिरका आफन्त अजमत अलि बेहनाले पनि सुरुमा विवाद सामान्य रहेको तर ढुंगा र घरायसी हतियार प्रयोग भएपछि अवस्था नियन्त्रण बाहिर गएको बताए । “हामी सबैले मिलाउन खोज्यौं, तर सकिएन,” उनले गहभरि आँशु झार्र्दै भने ।
नेपालगन्ज–५ का वडाध्यक्ष सराफत अलि शेषले समेत घटनाप्रति दुःख व्यक्त गर्दै विवाद मिलाउने धेरै प्रयास गरिए पनि असफल भएको बताए । सो घटनापछि अहिले बेहना टोल शोकमा डुबेको छ। स्थानीय परिवारहरू चिन्तित र पीडामा डुबेका छन् ।