Butwal Today

आगजनी र तोडफोडमा साथ दिने जनप्रतिनिधि र कर्मचारीमाथि कारबाही गर्ने

२ आश्विन २०८२, बिहीबार
अ+
अ-

नवलपरासी, २ असोज । 

बर्दघाट नगरपालिकाले भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा निजी र सार्वजनिक सम्पत्ति तोडफोड र आगजनीमा संलग्न जनप्रतिनिधि र कर्मचारीलाई कारबाही गर्ने भएको छ ।

नगरपालिकाको कार्यालयमा आगजनी र तोडफोडको घटनामा निर्वाचित जनप्रतिनिधि र नगरपालिकामा कार्यरत हालका कर्मचारी प्रत्यक्ष वा बल पुग्ने गरि समर्थन गरेको संलग्न भएको भेटिएपछि नगरपालिकाले कारबाही अघि बढाएको बताइएको छ ।

बर्दघाट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बाबुराम पौडेलले बुधवार मेयर शम्भुलाल श्रेष्ठ संयोजकत्वमा ७ सदस्य रहेको छानबिन समिति बनाइएको जानकारी दिए ।

तोडफोड र आगजनीमा संलग्न जनप्रतिनिधिको सबै सेवा सुविधा बन्द गर्ने र कर्मचारीलाई नगरपालिकाबाट हटाउनेसम्मको कारबाही गर्ने सहमति भएको मेयर श्रेष्ठले जानकारी दिए । प्रारम्भिक छानबिनमा कम्तीमा ८ जना ९ जनप्रतिनिधि र कर्मचारी० तोडफोडमा संलग्न रहेको प्रमाण फेला परेको नगरपालिकाले जनाएको छ । ।संलग्नको नाम सार्वजनिक नभएको र अनुसन्धानकै प्रक्रियामा रहेकाले प्रमाण भेटिए कारबाही हुने नगर प्रवक्ता सन्तबहादुर गाहले बताए । हिजो बसेको कार्यपालिका बैठकमा यो विषय उठाइएको हो ।

जिल्लामा भएका सरकारी र निजी सम्पत्तिमा आगजनी र तोडफोड गर्नेहरूमाथि उजुरी दिने तयारी गरिएको छ ।