© २०२३
भनिन्छ– देश शोकमा परेको बेला प्रकृतिले पनि आँसुको वर्षा गर्छ । बुधबारको दिन त्यस्तै भएको छ । जेनजी आन्दोलनका क्रममा मृत्युबरण गर्न पुगेका ७३ जना नेपालीको सम्मान र सम्झनामा सरकारले बुधबार राष्ट्रिय शोक घोषणा गरेको दिन प्रकृति पनि दिनभर रोएको छ ।
देशले राष्ट्रिय शोक घोषणा गरेको दिन प्रकृतिले एक निमेष आँसु थामेन । दिनभर झरी पर्दा देश रोएको महसुस भएको छ । सायद यो संयोग मात्रै थिएन– यो वर्ष पहिलो पटक यसरी दिनभर नै झरी परेर प्रकृतिले पनि देश शोकमा परेको छनक दिएको छ ।
देशले शोक मनाइरहेको बेला प्रकृतिले पनि रोएरै साथ दिएको छ । सरकारले मंगलबार जेनजी सहिदहरूको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरेको थियो । अर्को दिन राष्ट्रिय शोकमा प्रकृति पनि रुन बाध्य भएको छ । दुई दिनको आन्दोलनमा देशले ७३ जना सपुत गुमाएको छ ।
अहिलेसम्मको आन्दोलनमा यति छोटो समयमा अर्थात् दुई दिनमा यति धेरै मानवीय क्षति देशले कहिल्यै बेहोरेको थिएन । आज सारा देश शोकमा छ । बुधबार शोक दिवस घोषणा गरिए पनि देश अहिले पनि शोककै अवस्थामा छ ।
सहिद परिवारमाथि परेको विपत्ति सायदै शब्दमा बयान गर्न सकिन्छ । ती कलिला मुना जसले देशका लागि आहुति दिएका छन्, उनीहरूप्रति देश सधै नतमस्तक छ । ७३ जनाको ज्यान जानेगरी गोली प्रहार गर्न आदेश दिने शासकमाथि कारवाही होला नहोला, त्यो भविष्यमा थाहा होला तर देशले ठूलो क्षति भोगेको छ ।
सायद मृतकहरूको आत्माले दोषीमाथि कारवाही हुनुपर्ने माग गरिरहेको छ । प्रकृतिले पनि बुधबार दिनभर रोएरै मृतकहरूको सम्मानमा ऐक्यबद्धता प्रकट गरेको छ । देश दुखेको बेला वास्तवमा प्रकृति रोएको बिरलै सुनिन्छ तर बुधबारको दिन वास्तवमै देशले शोक मनाईरहँदा प्रकृति समेत रुनु केवल संयोगमात्र होइन ।
देशले होनहार युवा र राष्ट्रसेवकमात्रै गुमाएको छैन, देशको अमूल्य सम्पदा र सम्पत्तिमा भएको क्षतिले सारा नेपालीको मन रोएको छ । जेनजी आन्दोलनको मर्म र भावनाको सम्मान गर्ने हो भने सरकारले भ्रष्टाचारको जरा उखेल्ने काम गरोस् ।
शक्तिशाली आयोग गठन गरोस् । जेनजीका कलिला मुनामाथि ताकी ताकी गोली दाग्न आदेश दिने दमनकारीमाथि कडा कारवाही गरोस् । जेनजी आन्दोलनले अब भविष्यमा कोही पनि शासक बन्ने दुस्साहस गर्ने छैनन, कोही शासक हिटलर बन्ने प्रयास गर्ने छैनन् । आन्दोलनले त्यो प्रमाणित गरिदिएको छ ।
जेनजी आन्दोलनले देखाएको बाटोमा अघि बढ्ने संकल्प गरियो भने मात्रै जेनजी आन्दोलनका शहिदप्रति वास्तवमै साँचो श्रद्धाञ्जली हुनेछ ।
अनाहकमै मृत्युवरण गर्न बाध्य हाम्रा कलिला युवा पुस्ताको अकल्पनीय क्षतिले सबै नेपालीलाई स्तब्ध बनाएको छ ।
नेपाली मनहरू बेस्सरी रोएका छन् । देश शून्यको अवस्थामा पुगेको छ भन्ने महसुस भैरहेको छ । आजको दिन जेनजी आन्दोलनबाट पुगेको क्षतिको शोक मनाउँदै गर्दा शोकलाई शक्तिमा बदल्न प्रण गर्ने दिन पनि हो ।
तसर्थ अव तोकिएको समयमा निर्वाचन सम्पन्न गरि देशलाई नयाँ शिराबाट अघि बढाउने दायित्व र जिम्मेवारी कसैले पनि नविर्सिऔं । देशको अमूल्य सम्पदा र सम्पत्तिमा भएको क्षतिले सारा नेपालीको मन रोएको छ । सिंहदरबार, संसद, सर्वोच्च अदालत आदि आदि सयौं सम्पदा हाम्रो अमूल्य निधि र पहिचान थिए तर आज ती जलेर खरानी हुँदा नेपालीको मन छियाछिया भएको छ ।
नेपालीको मन भक्कानिएको छ । अव नेपालले शून्यबाट उठ्ने संकल्प गर्नु जरुरी छ । देश रोएको दिन अर्थात् राष्ट्रिय शोकको यो घडीमा देश पुनर्निर्माण गर्ने दायित्व हाम्रो काँधमा आएको छ ।
जेनजी पुस्ताले जुन सुनौलो नेपालको सपना देखेका थिए, जुन परिवर्तनको हुटहुटी थियो, त्यो हुटहुटीको सपना पूरा गर्ने ऐतिहासिक कार्यभार नेपालीको सामु आएको छ । देश र प्रकृति रोएको दिनबाटै त्यो संकल्प गरौं ।