© २०२३
काठमाडौं, १ असोज ।
नेपालमा उत्पादन हुने केरा दशैँ, तिहार र छठजस्ता प्रमुख चाडपर्व धान्न पर्याप्त भएकाले व्यवसायीहरूले आयात नगर्न अपिल गरेका छन् ।
नेपाल केरा उत्पादक महासङ्घका केन्द्रीय अध्यक्ष विष्णुहरि पन्तले अहिले देशभर केरा उत्पादन उत्साहजनक रहेको र नेपाली उत्पादनले पर्व पूरा गर्ने भएकाले फलफूल तथा तरकारी थोक व्यवसायी सङ्घलाई यो अनुरोध गरिएको जानकारी दिए ।
पन्तका अनुसार, केरा आयात हुँदा नेपाली अर्थतन्त्र, वैदेशिक व्यापार घाटा र रोजगारमा प्रत्यक्ष असर पर्न सक्छ । साथै नेपाली व्यावसायिक केरा उत्पादक किसान विस्थापित हुने जोखिम पनि उत्पन्न हुन सक्नेछ ।
चितवन, कैलाली, कञ्चनपुर, बर्दिया, नवलपरासीका केरा उत्पादक सङ्घका अध्यक्ष तथा केरा जोन समन्वय समितिका संयोजकहरूले हस्ताक्षर गरेको विज्ञप्तिमा केरा आयातमा रोक लगाउनसमेत सरकारसँग माग गरिएको छ ।