© २०२३
बुटवल, ०१ असोज ।
नेपालको अर्थतन्त्रको मेरुदण्ड मानिने पर्यटन क्षेत्र फेरि ठुलो सङ्कटमा परेको छ । अन्तिम दुई महिनामा देशमा भएको आन्दोलन- अस्थिरताका कारण पर्यटक आगमनमा कमी ल्याएको छ । गत वर्षको सोही अवधिसँग तुलना गर्दा यस वर्षको भदौ महिनासम्म पर्यटक आगमनमा करिब ३० प्रतिशतले गिरावट देखिएको हो ।
पछिल्ला हप्ताहरूमा भड्किएको हिंसात्मक आन्दोलन, राजनीतिक अनिश्चितता र नेतृत्व परिवर्तनले गर्दा अन्तर्राष्ट्रिय पर्यटक आगमनमा करिब ३० प्रतिशत गिरावट आएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
सेप्टेम्बरदेखि सुरु हुने ट्रेकिङ सिजन नेपालका लागि सुनौलो मौसम हो, जहाँ हजारौँ विदेशी पाहुनाहरू हिमाल चढ्न, ट्रेकिङ गर्न र सांस्कृतिक सम्पदा हेर्न आउने गर्छन् । तर, यस पटक होटलका कोठा खाली छन्, बुकिङ रद्द भइरहेका छन् र पर्यटन व्यवसायी नगद सङ्कटमा परेका छन् ।
भ्रष्टाचारविरुद्धको जेनजि आन्दोलन सुरुमा शान्तिपूर्ण देखिए पनि बिस्तारै हिंसात्मक बन्दै ७२ जनाभन्दा बढीको मृत्यु भयो । सरकारी भवनमा आगजनी, सडकमा भिडन्त, इन्टरनेट बन्द र कफ्र्यू लगाइएका दृश्यहरूले अन्तर्राष्ट्रिय स्तरमै नकारात्मक छवि बनाइदिएको छ ।
यसैबिच, ऐतिहासिक कदम स्वरूप नेपालले पहिलो पटक महिला प्रधानमन्त्री सुशीला कार्कीलाई अन्तरिम नेतृत्वमा नियुक्त गरेको छ । यद्यपि, राजनीतिक सङ्क्रमणकालीन अवस्थाले विदेशी पर्यटकलाई अझै पर्ख–र–हेर्न बाध्य बनाएको छ ।
ट्रेकिङ एजेन्सीहरूमा समूह बुकिङ रद्द भइरहेका छन् । एयरलाइन्सका उडानमा यात्रु घटेका छन् । कतिपय उडान त आधाभन्दा कम यात्रु लिएर सञ्चालन भइरहेका छन् । होटल एसोसिएसन नेपाल (हान) का केन्द्रीय सदस्य सिपि श्रेष्ठले अहिलेको अवस्थालाई सहजिकरणमा सरकारको दायित्व महत्वपूर्ण रहेको बताए ।
आन्दोलनका क्रममा क्षति भएका पर्यटन व्यवसायीहरूलाई उचित सम्बोधन गर्नुपर्ने बताए । ‘नेपालको पर्यटन चलायमान हुन अझै २ महिना लाग्छ ।’– उनले भने । विदेशी पर्यटकहरू यात्रा रद्द गरिरहेको उनले बताए ।
बुद्ध जन्मस्थल लुम्बिनी पनि यस अस्थिरताबाट अछुतो छैन । सामान्यतया असोज–कार्तिक महिनामा हजारौँ विदेशी तथा आन्तरिक पर्यटक लुम्बिनी पुग्ने गर्छन् । तर हालका आन्दोलन र असुरक्षाले विदेशी आगमन घटेको छ ।
नेपाल एसोसिएसन अफ टुर एजेण्ट्स (नाटा) रूपन्देहीका अध्यक्ष चन्द्र थापाले सिजनकै सुरुवातमा नै ठुलो प्रभाव परेको दुखेसो गर्छन् । ‘बुकिङ गरेका पर्यटकहरू सुरक्षाको विषय र घुमफिरका बारेमा बुझन सम्पर्क गरिरहेका छन्,’– उनले भने । देशमा राजनीति आन्दोलनसंगै पर्यटन क्षेत्रमा भएको क्षतिका कारण अब नया सरकार नीतिगत रूपमा नै प्याकेजका योजनाहरू ल्याउनुपर्ने बताउँछन् ।
‘होटल र ट्राभल एजेन्सीलाई कर छुट, व्यवसायीलाई सहुलियतपूर्ण ऋणसहित अन्तराष्ट्रियस्तरमा नै नीजि क्षेत्रलाई साथमा राखेर शान्तिसुरक्षाको सन्देश दिन गरि अभियान चलाउन जरुरी छ,’– उनले भने । भैरहवाको अन्तराष्ट्रिय बिमानस्थलबाट बुद्ध सर्किटका देशहरूमा जोड्ने गरि उडान संचालन अर्को महत्तवपूर्ण पाटो हो ।
पर्यटन क्षेत्रमा काम गर्ने संस्था काठमाडौँ केन्द्रित रहेको उनको गुनासो छ । अन्य धेरै पर्यटन क्षेत्रका व्यवसायीहरूलाई समेट्नुपर्ने उनी बताउँछन् । विभिन्न स्थानमा सुचनाकेन्द्र राख्ने र पर्यटन व्यवसायीहरूलाई थप प्रोत्साहन हुने सरकार र सरोकारवाला निकायहरूबाट कार्यक्रम गर्न जरुरी छ ।
नेपाल पर्यटन बोर्डका एक अधिकारी गत वर्षको तुलनामा यस पटक करिब ३० प्रतिशत आगमन घटेको बताउँछन् । पर्यटन नेपालको जीडीपीको करिब ७ प्रतिशत योगदान गर्ने क्षेत्र हो । लाखौँ मानिस प्रत्यक्ष–अप्रत्यक्ष रूपमा यससँग निर्भर छन् ।
कोभिड–१९ महामारीले यो क्षेत्र तहसनहस बनाएको थियो । तर, २०२४ सम्ममा नेपालले फेरि १३ लाखभन्दा बढी पर्यटक भित्र्याएर महामारीअघिको स्तर नजिक पु¥याएको थियो । तर अहिलेको संकटले त्यो पुनः उत्थानलाई जोखिममा पारेको छ ।
लुम्बिनी विकास कोषका एक कर्मचारीका अनुसार, गत वर्षको तुलनामा यस पटक २५–३० प्रतिशत कम विदेशी आगन्तुक आएका छन् । चीन, श्रीलङ्का र थाइल्यान्डबाट आउने समूहहरू धेरैजसो पर्यटकहरूले यात्रा रद्द गरेको व्यवसायी बताउँछन् । केही आएका पनि छोटो समयमै फर्किएका छन् । होटलका कोठा खाली छन्, कर्मचारीको तलब धान्नै गाह्रो छ । उनले भने ।
स्मरणीय कुरा, लुम्बिनी केवल धार्मिक गन्तव्य मात्र होइन, विश्व सम्पदा सूचीमा परेको अन्तर्राष्ट्रिय आकर्षण हो । यहाँको पर्यटन घट्नु नेपालकै छविमा नकारात्मक असर पर्ने विज्ञहरूको तर्क छ । नेपालले यसअघि पनि पर्यटन सङ्कट भोगेको छ ।
सन २०१५ को भूकम्पले संरचना ध्वस्त पारेर आगमन घटायो । सन २०१५–१६ को नाकाबन्दी, कोभिड–१९ महामारीले अन्तर्राष्ट्रिय यात्रा नै रोक्यो । तर हरेक पटक क्रमशः पुनः उत्थान भएको थियो । अहिलेको सङ्कटलाई विशेष बनाउने कुरा भनेको राजनीतिक अस्थिरता र जनआन्दोलन हो, जसले हिमाल मात्र होइन, लुम्बिनी जस्ता सांस्कृतिक गन्तव्यहरूलाई समेत प्रभावित बनाएको छ ।
पर्यटन व्यवसायीहरू स्थिरता चाहन्छन् । ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपालमा आबद्ध व्यवसायीहरू सानो घटना पनि अन्तर्राष्ट्रिय मिडियामा ठुलो रूपमा प्रचार हुने र अहिलेको हिंसाका कारण संवेदनशील मानिने पर्यटन क्षेत्र धरापमा परेको बताउँछन् ।
सरकारले तुरुन्तै शान्ति कायम गरी विश्वलाई नेपाल सुरक्षित छ भन्ने सन्देश दिनु नपर्ने उनीहरूको सुझाव छ । संयुक्त राज्य अमेरिका, बेलायत, अस्ट्रेलियालगायतका दूतावासहरूले आफ्ना नागरिकलाई सावधानी अपनाउन वा यात्रा पुनर्विचार गर्न सुझाएका छन् । यसले प्रत्यक्ष रूपमा आगमन घटाएको छ ।
युरोप र अमेरिका बेसका टुर अपरेटरहरूले नेपालको सट्टा भूटान, सिक्किम, भियतनाम जस्ता वैकल्पिक गन्तव्य रोज्न थालेका छन् । पोखरा, चितवन, लुक्लामात्र होइन, लुम्बिनीको अर्थतन्त्र पनि गम्भीर प्रभावित भएको छ । लुम्बिनी नजिकका होटल, गेष्टहाउस, ट्याक्सी सेवा, रेस्टुरेन्टमा पाहुना नआएपछि आम्दानी घटेको छ ।
नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले स्थिरता कायम गर्ने, भ्रष्टाचार नियन्त्रण गर्ने र पर्यटनलाई बचाउने वाचा गरेकी छिन् । सरकारले पर्यटन पुनः उत्थान प्याकेज तयार गरिरहेको बताइएको छ । होटल र ट्राभल एजेन्सीलाई कर छुट, संघर्षरत व्यवसायीलाई सहुलियतपूर्ण ऋण, लुम्बिनी, पोखरा, चितवन जस्ता प्रमुख गन्तव्यलाई विश्वव्यापी प्रचार गर्ने योजना लगायतका कार्यक्रम अहिलेको आवश्यकता हो ।
तर विज्ञहरू राजनीतिक समस्या समाधान नगरी यस्ता प्याकेजको असर सीमित मात्र हुनेभन्दै सरकारले पहिलो काम सुरक्षा र स्थिरता कायम गर्नुपर्ने सुझाव दिन्छन । लुम्बिनीसम्बन्धी अध्ययन गर्ने विज्ञहरू भन्छन् कि यदि यहाँको वातावरण सुरक्षित र शान्त देखाइयो भने धार्मिक पर्यटक तुरुन्तै फर्किन सक्ने सम्भावना छ । नेपाल पर्यटनको धैर्यपूर्ण इतिहास छ ।
एभरेस्ट, अन्नपूर्ण, लुम्बिनी, चितवन जस्ता गन्तव्यहरूको आकर्षण सजिलै हराउँदैन । यदि छिट्टै स्थिरता कायम भयो भने एक वर्षको अवधिमा नै पर्यटक आगमन पुनःवृद्धि हुन सक्ने अनुमान छ । नेपालको पर्यटन अहिले निर्णायक मोडमा छ ।
आगमनमा आएको गिरावट केवल आँकडा होइन, हजारौँ परिवारको रोजगारी, सपना र आम्दानी गुम्नु हो । लुम्बिनीमा सुनसान देखिएका होटल र पसलहरू, पोखरामा घटेको प्याराग्लाइडिङ, चितवनको खाली जङ्गल सफारी यो संकटको प्रत्यक्ष प्रमाण हुन् । तर, यदि सरकारले राजनीतिक स्थिरता ल्याएर स्पष्ट सन्देश दिन सक्यो भने नेपाल फेरि सङ्कटलाई अवसरमा बदल्न सक्षम हुनेछ ।