Butwal Today

कर्णाली प्रदेश सरकारका प्रयोगशाला भवन अलपत्र !

१ आश्विन २०८२, बुधबार
अ+
अ-

समाचार सारांशमा


  • कर्णाली प्रदेश सरकारले २०७७ सालमै सल्यानको कपुरकोट र सुर्खेतको छिन्चुस्थित हर्रे मा विषादी परीक्षण प्रयोगशाला निर्माण  ।


  • चार वर्षअघि ३५ लाख रुपैयाँ बराबरको उपकरण खरिद ।


  • तत्काल प्रयोग गर्न नसकिने भन्दै एकीकृत कृषि प्रयोगशाला सुर्खेतमा थन्क्याइएको ।


  • कपुरकोटमा २ जना कर्मचारी खटाइए पनि उपकरण अभावका कारण कामविहीन छन् ।


 

सल्यान, ०१ असोज । 

कर्णाली प्रदेश सरकारले विषादी परीक्षणका लागि निर्माण गरेका प्रयोगशाला भवन लामो समयदेखि अलपत्र परेका छन् । सल्यानको कपुरकोट र सुर्खेतको छिन्चुस्थित हर्रेमा २०७७ सालमै प्रविधिसहितको विषादी परीक्षण प्रयोगशाला सञ्चालन गर्ने लक्ष्यसहित भवन बने पनि प्रयोगमा आउन सकेका छैनन् ।

प्रदेश सरकारले तरकारी, फलफूल तथा मासुजन्य वस्तुमा हुने विषादी परीक्षणका लागि चार वर्ष अघि करिब ३५ लाख रुपैयाँमा उपकरण खरिद गरेको थियो ।

तर ती उपकरण तत्काल प्रयोग गर्न नसक्ने भन्दै एकीकृत कृषि प्रयोगशाला सुर्खेतमै थन्क्याइएको छ । पछिल्लो वर्ष थप उपकरण खरिद भए पनि भवनमै थन्किएका छन् ।

यता कपुरकोटमा दुई जना कर्मचारी पठाइए पनि उपकरण अभावका कारण उनीहरू कामविहीन बनेका छन् ।
प्रयोगशाला सञ्चालन नभएकै कारण किसानले विषादी प्रयोगबारे सचेतना पाउने, उत्पादनलाई ब्रान्डिङ गर्ने र बजारमा विश्वसनीयता बढाउने अपेक्षा पुरा हुन सकेको छैन ।

बेमौसमी तरकारी उत्पादनका लागि प्रसिद्ध कपुरकोटबाट वार्षिक ५२ करोड रुपैयाँभन्दा बढीको तरकारी बिक्री हुने गरे पनि विषादी परीक्षण अभावमा गुणस्तर प्रमाणित गर्न समस्या भएको कपुरकोट गाउँपालिकाले जनाएको छ ।

कर्णाली प्रदेशको एकीकृत कृषि प्रयोगशालाका प्रमुख चित्रबहादुर रोकायका अनुसार भवन निर्माण भए पनि बजेट र जनशक्ति अभावले सञ्चालन हुन नसकेको हो । मन्त्रालयसँग आवश्यक व्यवस्था गर्न आग्रह गरिएको र बजेट पाउँदासाथ सञ्चालनमा ल्याइने उनले बताए ।

यता भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका प्रवक्ता बखत बहादुर खड्काले भने यस वर्ष प्रयोगशाला सञ्चालन गर्ने दाबी गरेका छन् । उनका अनुसार गत वर्ष बजेट अपुग भएकाले यस वर्ष ६० लाख रुपैयाँमा टेन्डर मार्फत उपकरण खरिद भइसकेकाले यो वर्ष प्रयोगशाला सञ्चालनमा ल्याइने छ ।