Butwal Today

नवलपरासीमा जेनजी प्रदर्शनका क्रममा ३ करोड बढीको क्षति 

३१ भाद्र २०८२, मंगलवार
अ+
अ-

सुनवल, ३१ भदौ ।

पश्चिम नवलपरासीमा जेनजी समूहको आन्दोलनका क्रममा जिल्लाका सरकारी कार्यालयमा ३ करोड बढीको प्रारम्भिक क्षति भएको अनुमान गरिएको छ । कार्यालयहरूले उपलब्ध गराएको प्रारम्भिक विवरणको आधारमा ३ करोड ११ लाख बराबरको क्षति भएको अनुमान गरिएको क्षति विवरण सङ्कलन गर्न गठित क्षति मूल्याङ्कन समितिले जनाएको छ ।

जिल्लामा सहायक प्रमुख जिल्ला अधिकारी पोषन राज भण्डारीको संयोजकत्वमा गठित समितिले शनिबारदेखि विवरण सङ्कलन गर्न सुरु गरेको थियो । समितिले पहिलो चरणमा सरकारी कार्यालयको विवरण सङ्कलन गरेको हो ।

प्रारम्भिक विवरण सङ्कलन सकिएको भए पनि क्षतिको यकिन गरेर मूल्याङ्कन गर्न बाँकी रहेको भण्डारीले बताए । जिल्लामा स्थानीय तह सहित १९ वटा सरकारी कार्यालयमा तोडफोड र आगजनी भएको छ ।

जिल्लाका सबै स्थानीय तह सहित जिल्ला समन्वय समिति, जिल्ला प्रशासन कार्यालय, करदाता सेवा कार्यालय, सरकारी वकिल कार्यालय अतिरिक्त हुलाक कार्यालय लगायतमा तोडफोड र आगजनी भएको छ ।

आन्दोलनका क्रममा उग्र बनेका प्रदर्शनकारीले कार्यालय परिसरमा पार्किङ गरेका सवारी साधनमा तोडफोड र आगजनी गरेका छन् । ३० वटा सवारी साधन तोडफोड र आगजनी गरिएको छ ।

नवलपरासी जिल्लामा भएको जेनजी प्रदर्शनका क्रममा २० वटा सरकारी गाडीलाई जलाएर ध्वस्त बनाइएको छ । प्रदर्शनका क्रममा २७ वटा सरकारी संरचनामा आगजनी र तोडफोड भएको छ ।

ध्वस्त भएका सवारी साधनमा रामग्राम नगरपालिकाको एउटा स्र्कर्पियो गाडी र २ मोटरसाइकल, सुस्ता गाउँपालिकाको एउटा गाडी, सरावल गाउँपालिकाको दुई मोटरसाइकल, बर्दघाट नगरपालिकाको ५ वटा मोटरसाइकल रहेका छन् ।

त्यसै गरी प्रतापपुर गाउँपालिकाको गाडी र ३ वटा मोटरसाइकललाई जलाएर ध्वस्त बनाइएको छ । जिल्ला समन्वय समितिमा २ वटा मोटरसाइकल जलेर ध्वस्त भएका छन् । जसमा एक जना कर्मचारी रहेका छन् ।

सरकारी वकिल कार्यालयको १ गाडी र १ मोटरसाइकल तथा त्यहाँ राखिएको कर्मचारीको १ मोटरसाइकल पनि जलेर ध्वस्त भएको छ भने करदाता सेवा कार्यालयका २ मोटरसाइकल पनि जलाएर ध्वस्त बनाइएको छ ।

तोडफोड भएका सवारी साधनमा बर्दघाट नगरपालिकाको दमकलसहित ७ वटा सवारी साधन र पाल्हीनन्दन गाउँपालिकाको ट्याक्टरमा तोडफोड गरी क्षति पु¥याईएको छ ।

प्रदर्शनका क्रममा जिल्ला प्रशासन कार्यालयमा राखिएको नेपाली सेनाको गाडी सिसा समेत प्रदर्शनकारीले तोडिदिएका छन् ।  व्यक्तिगत सम्पत्ति तथा विभिन्न फर्म, संस्थाका कार्यालयमा भएको क्षतिको विवरण सङ्कलन गर्न बाँकी नै छ । ती विवरण स्थानीय प्रहरी मार्फत सङ्कलन गर्ने जनाइएको छ ।

जिल्लामा आन्दोलनको क्रममा पाँच दर्जन बढी तोडफोड र आगजनीका घटना भएका छन् ।
एमाले नवलपरासी पुग्यो आन्दोलनले क्षति पुगेका कार्यालय र जनप्रतिनिधिका घरमा
नेकपा एमाले पश्चिम नवलपरासीले जेनजी समूहको प्रदर्शनको क्रममा भएको आगजनी र तोडफोड बाट क्षति पुगेका सरकारी कार्यालय र जनप्रतिनिधिका घरमा पुगेर निरीक्षण गर्दै सान्त्वना प्रदान गरेको छ ।

जिल्लामा धेरै स्थानमा जनप्रतिनिधि र स्थानीय तहलाई केन्द्रमा राखेर आक्रमण गरिएकाले एमालेले सान्त्वना प्रदान गर्न पनि अभिभावको रूपमा पार्टी घरघरमा पुगेको अध्यक्ष दिपेन्द्र कुमार अधिकारीले बताए ।

जिल्लाका सबै स्थानीय तह सहित सबै पार्टीमा आबद्ध जनप्रतिनिधिको घरको पार्टीपंक्तिले निरीक्षण गरेको छ । प्रतापपुर गाउँपालिकाको अध्यक्ष उमेशचन्द्र यादव र एमाले सचिव तथा बर्दघाटका निवर्तमान नगरप्रमुख धिरज शर्मा बस्याको दुई वटा घरमा आगजनी तथा तोडफोड भएको छ ।

पूर्व मन्त्री हृदेश त्रिपाठी, सबिधान सभा सदस्य विक्रम खनाल, प्रदेश सभा सदस्य विश्वप्रेम पाठक, पाल्हीनन्दन गाउँपालिकाका उपाध्यक्ष फातिमा खातुन अन्सारीको घरमा आगजनी तथा तोडफोड बाट बढी क्षति भएको छ ।

सुनवल नगरपालिकाकी मेयर बिमला अर्याल, सुनवल नगरपालिकाका उपमेयर सूर्य दुबे बर्दघाट नगरपालिकाका मेयर शम्भुलाल श्रेष्ठ, पाल्हीनन्दन गाउँपालिकाका अध्यक्ष बैजुप्रसाद गुप्ता,सुस्ता गाउँपालिकाका अध्यक्ष टेकनारायण उपाध्याय लगायतको घरमा पनि तोडफोड भएकोमा एमाले नेतृत्व सहितको टोलीले भेटघाट र सहानुभूति प्रकट गरेको हो ।

एमाले पार्टी कार्यालयमा पनि तोडफोड भएको थियो । कार्यालय परिसर सरसफाइ गरेर एमालेले जिल्लामा भएको क्षतिको स्थलगत निरीक्षण गरेको हो ।