Butwal Today

दाङका स्थानीय सरकार काममा

३० भाद्र २०८२, सोमबार
अ+
अ-

लमही, ३० भदौ ।

दाङमा सबै पालिकाले आइतबारदेखि सेवा सुचारु गरेको बताए । पछिल्लो आन्दोलनका कारण बन्द भएका विद्यालय आइतबारदेखि सञ्चालन हुने भएका हुन् ।

घोराही उपमहानगरपालिका, गढवा, राप्ती र बंगलाचुली गाउँपालिकाले शनिबार सूचना जारी गरी भदौ २९ गते आइतबारदेखि सम्पूर्ण विद्यालय सञ्चालन गरिने जानकारी दिएका थिए ।

यसैबिच निजी विद्यालय अर्गनाइजेशन (प्याव्सन) दाङ जिल्ला समितिले पनि संस्थागत विद्यालयहरू आइतबारदेखि सञ्चालन गरिने जानकारी दिएको थियो ।

यसैबिच, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत चिकित्सक, नर्स, स्वास्थ्यकर्मी, विभागीय प्रमुख, शाखा प्रमुखहरूको बैठक आइतबार प्रतिष्ठानको सभाहलमा सम्पन्न भएको छ ।

बैठकमा प्रतिष्ठानका रजिष्ट्रार प्रा. श्याम लम्साल र अस्पताल निर्देशक प्रा.डा जनार्दन पन्थीले संयुक्त रूपमा अस्पतालको सेवालाई विरामीमैत्रि बनाउन र गुनासो नआउने गरी कामलाई चुस्त दुरुस्त बनाउन निर्देशन दिएका छन् ।

रजिष्ट्रार लम्सालले देशमा विकसित राजनैतिक, सामाजिक घटनाक्रम र शनिवार दाङको सुरक्षा संयन्त्रको प्रतिष्ठान भ्रमणका क्रममा राखिएका चासो र प्रतिष्ठानप्रति निरन्तर व्यक्त हुने जनसरोकारका विषयहरूमा ब्रिफिङ गरेका थिए ।

उनले प्रतिष्ठानको फार्मेसीमै पाइने औषधिहरू किन्न विरामीलाई बाहिर नपठाउन र ल्याबको जाँचहरू पनि बाहिर नपठाउन आग्रह गर्दै यदि त्यस्तो फेला परे कानुन विपरीतका कामहरूमा प्रतिष्ठान जिम्मेवार नरहनेसमेत बताए ।

आफ्नो पेसागत जिम्मेवारीमा आफै प्रतिबद्ध भई इमानदारीपूर्वक सेवामा खट्न पनि सबैलाई निमित्त अस्पताल निर्देशक प्राडा पन्थीले निर्देशन दिए ।

अस्पतालको तोकिएको कार्यालय समयमा पोसाकमा आउन र बिरामीलाई परामर्श दिने कुरामा अत्यन्तै सहज बनेर सेवा प्रवाह गर्न सबैलाई उनीहरूले निर्देशन दिए ।