Butwal Today

दाङमा आन्दोलनपछि अवरुद्ध सेवाहरू आइतबारदेखि सुचारु

२९ भाद्र २०८२, आइतबार
अ+
अ-

लमही, २९ भदौ ।

दाङमा पछिल्लो आन्दोलनका कारण रोकिएका सेवा र विद्यालयहरू आइतबारदेखि सुचारु भएका छन् ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले शुक्रबारै सबै ७५३ वटै स्थानीय पालिकालाई सेवा पुनः सञ्चालन गर्न निर्देशन दिँदै सर्कुलर जारी गरेको थियो । मन्त्रालयका प्रवक्ता कालीप्रसाद पराजुलीका अनुसार क्षति भएका कार्यालयहरूलाई वैकल्पिक स्थानमा अत्यावश्यक सेवा सञ्चालन गर्न भनिएको छ भने क्षति नभएका कार्यालयहरू सहज रूपमा सञ्चालनमा आएका छन् । सिंहदरबारभित्रका कार्यालयहरूमा पनि वैकल्पिक व्यवस्थापन गरी सेवा अघि बढाइँदैछ ।

शिक्षा मन्त्रालयका सूचना अधिकारी मधुप्रसाद घिमिरेका अनुसार, स्थिति सामान्य भएकाले स्थानीय तहले आइतबारदेखि विद्यालय खोल्ने निर्देशन दिएका छन् । घोराही उपमहानगरपालिका, गढवा, राप्ती र बंगलाचुली गाउँपालिकाले शनिबार सूचना जारी गरी सबै विद्यालय सञ्चालन हुने जानकारी दिएका थिए। यसैगरी, निजी विद्यालय संगठन  (प्याव्सन) दाङले पनि आफ्ना संस्थागत विद्यालय आइतबारदेखि सञ्चालन हुने जानकारी दिएको थियो ।

यससँगै दाङका सर्वसाधारणका लागि अवरुद्ध रहेका सेवा र शैक्षिक गतिविधि सामान्य अवस्थामा फर्किएका छन् ।