Butwal Today

घर जलेपछि वीरेन्द्रनगरकी मेयर ढकाल भन्छिन् ‘ विकासले फड्को मारेको सहर बन्दै गर्दा म माथि अन्याय किन ?’

२८ भाद्र २०८२, शनिबार
अ+
अ-

सुर्खेत,२८ भदौ । 

जेन जी आन्दोलनका क्रममा आफ्नो निजी घर जलेपछि सुर्खेत वीरेन्द्रनगर नगरपालिकाकी मेयर मोहनमाया ढकालले गुनासो व्यक्त गरेकी छन् । ढकालले सामाजिक सञ्जालमार्फत उनले नगरको समृद्धिको लागि काम गर्नु गल्ती भयो भन्ने प्रश्न समेत गरेकी छन् ।

जेनजी आन्दोलनको क्रममा भदौ २४ गते वीरेन्द्रनगर वडा नम्बर आठ स्थित घर जलाइएपछि ढकालले नगरको विकासको लागि खटिएर गरिएका  कामको कारण आफू सहित परिवारले नै पीडा भोग्नुपरेको गुनासो गरेकी छन् ।

‘सार्वजनिक जिम्मेवारीमा रहँदा थुप्रै मानसिक पिडाहरू पाएकी छु’ उनी भन्छिन्, ‘कोरोना सङ्कटमा काम गर्दा थुप्रै आरोपहरू लगाइयो, तर, सबै कुरालाई बेवास्ता गर्दै काम गरेकी छु । विकासले फड्को मारेको सहर बन्दै गर्दा ममाथि अन्याय किन ?’

ढकालले घरमा रहेका सम्पूर्ण सामान जलाइएको प्रति दुःखी हुँदै ढकालले उक्त घर आफ्नो पुर्ख्यौली र श्रीमानको २५ वर्षको कमाइको उपज भएको उल्लेख गरेकी छन् ।

उनले आफूले ५ वर्ष उपमेयर र ३ वर्ष मेयर भएर काम गर्दा कहीँ कतै अनियमितता गरेको भएको त्यसको प्रमाण पेस गर्न तयार रहेको बताएकी छन् ।

वीरेन्द्रनगरको विकासका लागि उनले ८ वर्षमा सुरु गरेका १२ वटा महत्त्वपूर्ण कामको सामाजिक सञ्जालमा उल्लेख गर्दै यही कारणले आफ्नो घर जलाइएको भनेर प्रश्न गरेकी छन् ।

ढकालले वीरेन्द्रनगरलाई पश्चिम नेपालको उदाउँदो सहरको रूपमा विकास विकास गरेको,सहरको पार्किङ व्यवस्थापन गरेको, बुलबुले ताल र ऐतिहासिक घण्टाघर निर्माण,भेरी लिफटिङ, आयोजनाको सुरुवात,जनसङ्ख्याभन्दा करिब तीन गुणा बढी जनसङ्ख्यालाई स्वास्थ्य सेवा,करिब ६ लाख जनसंख्यालाई आधारभूत सेवा प्रदान गर्नुका साथै वीरेन्द्रनगरलाई उपमहानगरको मापदण्डमा पु¥याउन आफू निरन्तर लागेको बताएकी छन् ।

‘राजनीतिक प्रतिशोधका आधारमा गरिएका यस्ता टिप्पणीले मलाई कहिल्यै कमजोर बनाउने छैन’ उनी भन्छिन्, ‘नगर बासीहरू तपाईँहरूको मतको संरक्षण गर्दै जस्तोसुकै परिस्थितिमा  पनि सतिसाल भएर नगरको विकासको पक्षमा उभिनेछु ।’

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?