Butwal Today

कालीगण्डकी कोरिडोर सडक अवरुद्ध

२६ भाद्र २०८२, बिहीबार
अ+
अ-

गुल्मी, २६ भदौ ।

गएरातीदेखि परेको अविरल वर्षाका कारण पहिरो जाँदा कालीगण्डकी कोरिडोर सडक अवरुद्ध बनेको छ ।

कालीगण्डकी कोरिडोर सडकको गुल्मी खण्ड अन्तर्गत कालीगण्डकी गाउँपालिका –२ स्थित राक्से भन्ने स्थानमा सडक माथिबाट पहिरो खसेपछि गए रातीदेखि उक्त सडक पूर्ण रूपमा अवरुद्ध बनेको हो ।

सडक अवरुद्ध भएको जानकारी पाएपछि प्रहरी चौकी पुर्तीघाटबाट प्रहरी टोलीलाई बिहानै सडक सुचारुका लागि पहिरो गएको स्थानका खटाई सकिएको प्रहरीले जनाएको छ ।

अहिले पनि उक्त क्षेत्रमा लगातार वर्षा भइरहेका कारण सडकमा थुप्रिएको पहिरो पन्छाउन समस्या परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी गंगाबहादुर सारुले जानकारी दिएका छन् ।

सडक अवरुद्ध बनेपछि त्यस क्षेत्रबाट पर्वत, वाग्लुङ् एवं रिडी हुँदै पाल्पा र बुटवलसम्म आवतजावत गर्ने सवारी साधनहरू सञ्चालनमा आउन सकेका छैनन् ।

वर्षा रोकिनासाथ सडक सुचारु गर्नका लागि स्थानीय निर्माण कम्पनी कालीका कन्ट्रक्सनले पहिरो पन्छाउने उपकरणहरू तयारी अवस्थामा राखेको सूचना अधिकारी सारुले बताएका छन् । पहिरोका कारण उक्त सडक पटक पटक अवरुद्ध हुने गर्दछ ।