© २०२३
चन्द्रौटा (कपिलवस्तु), २३ मंसिर ।
कपिलवस्तुको शिवराज नगरपालिका–२ का गाउँ ब्लक क्षेत्रको जग्गाधनीलाई दर्ता प्रमाण पुर्जा वितरण गरिएको छ । वडा नम्बर २ का डि ब्लक जग्गामा बसोबास गर्ने बालापुर, मद्रहवा, ओझवा, हरहट्टी गाँउका १४७ घरधुरीलाई वितरण गरिएको हो ।
नगर प्रमुख अजय थापाले वितरण कार्यक्रमलाई सम्बोधन गर्दै नापी भएर पनि लामो समयपश्चात् गाउँ ब्लक समस्या समाधान हुने क्रम बढेको बताए । जग्गाको नापी नहुँदा धेरै समस्या रहेको बताउँदै घरबास मात्र गरेर बसेका नागरिकलाई पुर्जा दिइएको थापाले जनाए । नापी कार्यालय तौलिहवा कपिलवस्तुले २०२७ सालमा नापी गर्दा छुट भएक डि ब्लक जग्गाको लालपुर्जा वितरण गरिएको नगर प्रमुख थापाले बताए ।
यसैबीच उपप्रमुख शिवकुमारी थारुले साविकको भगवानपुर गाउँ विकास समिति अन्तर्गत ७ वटा गाउँ ब्लक नापी सम्पन्न भएपछि कार्यालयले ५२ बर्ष पछि १४७ जनालाई लालपुर्जा वितरण गरेको बताइन् । गाउँ ब्लक नापी सम्पन्न भई दर्ता भइसकेका जग्गाधनीलाई लालपुर्जा वितरण गरिएको उपप्रमुख थारुले बताइन् । अव्यवस्थित, भूमिहीन र सुकुम्बासीले पनि यसैगरी जग्गाधनी लालपुर्जा पाउनुपर्नेमा उनले जोड दिइन् ।
नापी कार्यालय तौलिहवा जान अप्ठ्यारो हुने भएकाले गाउँमै लालपुर्जा वितरण गर्ने व्यवस्था गरिएको शिवराज नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष राम बहादुर चौधरीले बताए । वडाअध्यक्ष चौधरीले भने–“सर्वसाधारणको सहजताका लागि गाउँमै पुगेर पुर्जा बाँडेका हौँ ।”
पुर्जा पाएपछि स्थानीयबासी खुशी भएका छन् । पुर्जा नहुँदा उनीहरू व्यक्तिगत काम, बैंकबाट ऋण लिने, धितो राख्ने, बेचबिखन गर्न, अंशबण्डा गर्नबाट वञ्चित हुदै आएका थिए । शिवराज नगरपालिकाले २०७८ को चैत २३ गते १८० जनालाई जग्गाधनी लालपुर्जा वितरण गरेको थियो । नगरको २, ३ र ५ नं. वडामा रहेका पाँच गाउँ ब्लकका बासिन्दालाई लालपुर्जा वितरण गरेको जिल्ला नापी कार्यालय कपिलवस्तुले जनाएको छ ।