© २०२३
लमही ,२० भदौ ।
लुम्बिनी प्रदेशमा भदौ २२ गते मनाइने प्रदेश निजामती सेवा दिवस–२०८२को पूर्वसन्ध्यामा शुक्रबार देउखुरीमा “संघीयता कार्यान्वयनमा प्रदेश निजामती सेवाका अवसर र चुनौती” विषयक अन्तरक्रिया सम्पन्न भएको छ ।
कार्यक्रममा प्रदेश सरकारका प्रमुख सचिव बाबूराम अधिकारीले जनशक्ति व्यवस्थापनलाई प्राथमिकतामा राखिएको बताए । उनले विविधता व्यवस्थापन गर्दै सेवा प्रवाहलाई प्रभावकारी बनाउन निरन्तर सुधार आवश्यक रहेको उल्लेख गर्दै ऐनभन्दा बाहिर गएर काम गर्न नसकिने स्पष्ट पारे । साथै, आधिकारिक ट्रेड यूनियन बनाउन कानुनी व्यवस्था भएकाले त्यसतर्फ ध्यान दिनुपर्नेमा पनि जोड दिए ।
उनका अनुसार प्रदेशमा जनशक्ति अभाव छ, सेवाप्रवेश बढाउन अपरिहार्य छ, र संघीयताको सफलता कर्मचारीहरूको पेशागत क्षमता तथा सेवा प्रवाहमा निर्भर हुन्छ ।
मुख्यमन्त्री कार्यालयका सचिव मोतिराम सापकोटाले प्रशासनिक संघीयता अझै बामे सर्दै गरेको टिप्पणी गर्दै तीनै तहका कर्मचारीबीच ज्ञान आदानप्रदान हुने अवसर सिर्जना गर्नुपर्ने धारणा राखे । राजनीतिक रूपमा संघीयता स्थापित भए पनि आर्थिक र प्रशासनिक संघीयताको अभ्यास अझै सबल बनाउनुपर्नेमा उनले जोड दिए ।
निजामती कर्मचारी संगठनका महासचिव भीमलाल खनालले कर्मचारीलाई उत्प्रेरणा दिने अवसर र सुविधा सुनिश्चित गर्नुपर्ने बताए भने, यूनियन लुम्बिनीका अध्यक्ष वामदेव शर्माले वैज्ञानिक सरुवा प्रणाली विकास नगरेसम्म सेवा प्रवाहमा सुधार गर्न कठिन हुने धारणा राखे ।
त्यसैगरी, राष्ट्रिय कर्मचारी संगठन लुम्बिनीका अध्यक्ष भोजबहादुर रावलले संघीयताको वास्तविक अनुभूति दिलाउने खालको निजामती सेवा ऐन आवश्यक रहेकोमा जोड दिए ।
कार्यक्रमको सहजीकरण मुख्यमन्त्री कार्यालयका कानून सचिव लिलाधर सुवेदीले गरेका थिए ।
सहभागीहरूले संघीयता उत्कृष्ट शासन व्यवस्था भए पनि यसको प्रभावकारी कार्यान्वयनका लागि प्रशासनिक तथा वित्तीय संघीयतालाई अझ सबल बनाउनुपर्नेमा एकमत व्यक्त गरे ।