© २०२३
बर्दिया, २० भदौ ।
भारतको उत्तर प्रदेशस्थित बरेलीमा हराएका बर्दियाको गुलरिया–१० का १५ वर्षीय सरोज यादव अझै बेपत्ता छन् । साउन २९ गते परिवारसँगै बरेलीको मनौना धाममा दर्शन गर्न गएका सरोज भीडमा हराएका थिए ।
सरोजका आमाले भनिन्, “हामी दर्शनको क्रममा लाइनमा उभिएका थियौँ, एक्कासी ऊ हाम्रो नजरबाट हरायो । सुरुमा साथी वा आफन्तको वरिपरि होला भनी सोचेका थियौँ, ऊ कतै देखिएन ।”
परिवारले तत्कालै प्रहरीमा खबर गरे पनि अहिलेसम्म कुनै प्रमाण फेला परेको छैन । बरेली प्रहरी, नेपालगन्ज र बर्दियाका सुरक्षा निकायहरूले खोजी गरिरहेका छन् । स्थानीय समाजसेवीहरू समेत परिवारसँग सहकार्य गर्दै आएका छन् ।
सरोज गोरो वर्णका, मध्यमकदको शरीरका छन् । हराउँदा उनी निलो जिन्स पाइन्ट र सेतो टिसर्टमा थिए । परिवारले कुनै प्रमाणपाए तुरुन्त नजिकैको प्रहरी चौकी वा परिवारलाई जानकारी दिन अपील गरेको छ ।
सामाजिक अभियन्ता सुरेन्द्र थारुका अनुसार, “यस्तो अवस्थामा दुवै देशबीच सूचना आदान–प्रदान नभएसम्म खोजी कठिन हुन्छ । सरकार तत्काल सक्रिय हुनुपर्छ ।” मानव अधिकारकर्मी सीता चौधरीले १५ वर्षे बालकको बेपत्ता हुनु सामान्य घटना नभएको र ढिला भयो भने जोखिम बढने उल्लेख गरिन ।
भारतको विशाल शहर बरेलीमा दिनहुँ लाखौँ मानिस ओइरिने गर्दछन् । त्यसमध्ये धार्मिक स्थलहरूमा हुने भीडमा बच्चा वा किशोरहरू हराउने घटना सामान्य देखिन्छ ।
बरेली प्रहरी स्रोतका अनुसार, हराइका घटनामा तत्काल सूचनासँगै फोटो वा विवरण उपलब्ध गराइए मात्र खोजी सहज हुन्छ । तर सीमापारका परिवारलाई सूचना प्रवाहमा ढिलाइ हुनाले समस्या थपिएको हो ।