© २०२३
कपिलवस्तु, १९ भदौ ।
इस्लाम धर्मका प्रवर्द्धक पैगम्बर हजरत मोहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) को जन्मोत्सव (ईद–ए–मिलादुन्नबी) को अवसर पारेर कपिलवस्तुमा विभिन्न सामाजिक कार्य थालिएको छ ।
मुस्लिम युवा सङ्घ तौलिहवाको आयोजनामा कपिलवस्तु नगरपालिका वडा नम्बर २ मा रहेको कब्रिस्तानमा वृक्षारोपण गरिएको हो । पैगम्बर हजरत मोहम्मदको १५ सय औँ जन्मोत्सवको अवसर पारेर लुम्बिनी प्रदेशसभा सदस्य सुधाकर पाण्डेय, कपिलवस्तु नगरपालिकाका प्रमुख सुदिप पौडेल, कपिलवस्तु नगरपालिका वडा नम्बर १ का अध्यक्ष मोहम्मद जाहिद खाँ, जामा मस्जिद अहले सुन्नत समिति अहमदियाका अध्यक्ष रउफ अहमद खाँ, जामा मस्जिदका मौलाना अलि हसन लगायतले ७२ वटा बिरुवा रोपेका थिए ।
पैगम्बर हजरत मोहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) को जन्मोत्सवमा सामाजिक कार्यलाई प्राथमिकता दिइएको जनाउँदै वृक्षारोपण पछि बिहीबार रक्तदान र दीप प्रज्वलन गरि शुक्रवार जन्मोत्सव मनाइने सङ्घ आबद्ध युवा समाजसेवी मोहम्मद मुस्तफाले जानकारी दिए ।