© २०२३
दाङ, २२ मङ्सिर ।
दाङ जिल्लामा क्रियाशील पत्रकारहरुलाई कानुन सम्बन्धी जानकारी गराइएको छ । भिम धर्म फाउण्डेशन र चैतन्य लिगल सर्भिस एण्ड रिसर्च सेन्टर काठमाडौँको आयोजना एवं नेपाल पत्रकार महासंघ दाङ शाखाको संयोजनमा पत्रकारहरुका लागि कानुन सम्बन्धी जानकारी बिहीबार घोराहीमा सञ्चालन गरिएको हो ।
नेपाल पत्रकार महासंघ दाङ शाखाका अध्यक्ष दुर्गालाल केसीको अध्यक्षतामा भएको कार्यक्रममा पत्रकारहरुलाई नेपालको कानुन, कानुनका प्रकार, मुद्दा, अपराध, रिट कार्यविधी तथा न्याय प्रणाली र व्यावसायिक कानुनका बारेमा अधिवक्ता निकेशकुमार लम्सालले जानकारी गराएका थिए । समाचार लेख्दा पत्रकारले शब्द चयनमा ख्याल गर्नुपर्ने र पीडितलाई थप पिडा नहुने गरी समाचार लेख्नुपर्ने बताएका थिए ।
कानुनी शब्दलाई कसरी प्रयोग गर्ने र अदालतको समाचार लेख्दा संबेदनशील हुनुपर्ने बताइएको थियो । कार्यक्रममा नेपाल पत्रकार महासंघ दाङ शाखाका सचिव आरके शितलले पनि मन्तव्य व्यक्त गरेका थिए भने तालिमको सहजिकरण पत्रकार उदय विसीले गरेका थिए । तालिममा जिल्लामा क्रियाशील विभिन्न सञ्चार माध्यमहरुमा कार्यरत करिव २० जना पत्रकारहरुको सहभागिता रहेको थियो ।