© २०२३
सल्यान, १८ भदौ ।
तरकारी खेतीमा जीवनाशक विषादीको प्रयोग घटाउनका लागि सल्यानका कृषक तथा सरोकारवालाहरूलाई अभिमुखीकरण गरिएको छ ।
जिल्लाको छत्रेश्वरी गाउँपालिकामा जीवनाशक विषादीको प्रयोगबाट मानव स्वास्थ्य तथा प्राकृतिक वातावरणमा पर्ने असरबारे एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । जीवनाशक विषादीको प्रयोग घटाउँदै जैविक तथा दिगो कृषि प्रणालीतर्फ कृषकलाई प्रोत्साहन गर्नका लागि मङ्गलवार अन्तरक्रिया तथा अभिमुखीकरण गरिएको हो ।
छत्रेश्वरी गाउँपालिकाको समन्वय र आइएम स्वीडिस डेभलपमेन्ट पार्टनरको सहयोगमा दलित विकास समाज सल्यानको आयोजनामा भएको कार्यक्रममा बोल्दै छत्रेश्वरी गाउँपालिका उपाध्यक्ष बुद्ध कुमारी खत्रीले पछिल्लो समय विभिन्न स्वास्थ्य समस्या बढिरहेको र यसमा विषादी प्रयोग एक प्रमुख कारण बनेको उल्लेख गरिन् । कृषकहरू प्राङ्गारिक मल प्रयोग छाडेर रासायनिक मलमा निर्भर हुँदै गएकोमा चिन्ता व्यक्त गर्दै उनले पशुपालनबाट उत्पादन हुने मललाई प्रयोग गर्न आग्रह गरिन ।
आर्थिक र सामाजिक न्यायका लागि समुदाय परिचालन परियोजना अन्तर्गत सञ्चालन भएको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत गुरु प्रसाद योगीले विषादी विष नै हो औषधि होइन भन्ने मुख्य सन्देशलाई सबैले मनन गर्नुपर्नेमा जोड दिए । जनप्रतिनिधि, विभिन्न शाखा प्रमुख, नागरिक समाजका अगुवा, सहकारी संस्था, समूह तथा स्थानीय कृषकहरूलाई महत्त्वपूर्ण विषयमा अभिमुखीकरण गरिएको थियो । विषादीको परिभाषा, विषादीको प्रकार, नेपालमा विषादी प्रयोगको वर्तमान स्थिति, विषादीको खतरा सङ्केत तथा विषादीको तत्कालीन र दीर्घकालीन असरहरूका बारे गाउँपालिकाका कृषि विकास अधिकृत सुदीप खनालले अभिमुखीकरण गरेका थिए ।
यसै गरी विषादीले वातावरणमा पार्ने नकारात्मक प्रभाव, विषादी दुरुपयोगका प्रमुख कारणहरू, विषादी खरिद गर्दा ध्यान दिनुपर्ने कुराहरू, विषादी प्रयोग गर्दा अपनाउनुपर्ने सावधानीहरू, पर्खनुपर्ने समय अवधि र विषको अवशेषका बारे पनि जानकारी प्रदान गरिएको थियो । यसका साथै तरकारी र फलफूलमा रासायनिक विषादी कम गर्ने उपायहरू, जैविक विषादीहरू, जैविक विषादीहरू प्रयोग गर्दा ध्यान दिनुपर्ने कुराहरू, झोलमल बनाउने तरिका, कृषिमा रोग किरा नियन्त्रणका लागि प्रयोग गर्न सकिने विभिन्न पासोहरूका बारेमा पनि अभिमुखीकरण गरिएको हो ।
सो अवसरमा नागरिक समाज सञ्जाल मार्फत पालिकामा ध्यानाकर्षण गरिएका क्रियाकलापहरूमा आ.व. २०८२ \ ०८३ को बजेटबारे पनि शाखागत छलफल गरिएको परियोजनाका जिल्ला संयोजक गुमानसिंह नेपालीले जानकारी दिए ।