© २०२३
गुल्मी, १८ भदौ ।
लाहुरे गाउँको रूपमा परिचित भार्से गाउँ आफैमा पनि एक पुरानो र ऐतिहासकि महत्त्व बोकेको ठाउँ हो । त्यही भार्षे गाउँ प्राकृतिक, सांस्कृतिक र पर्यटकीय हिसाबले पनि त्यत्तिकै सुन्दर र रमणीय छ ।
यहाँ जिल्लामै सबैभन्दा धेरै मगरहरूको बस्ती रहेको छ । जिल्लाको सत्यवती गाउँपालिका–८ मा अवस्थित लाहुरे गाउँको रूपमा चिनिने भार्से पछिल्लो समयमा भिन्नै अध्ययन केन्द्रको रूपमा विकसित हुन थालेको छ ।

भार्सेलाई जन्मथलो बनाएका लेफ्टिनेन्ट कुल बहादुर बुढाथोकीले भार्सेमा गोर्खा ग्यालरी स्थापना गरेका हुन् । उनले आफ्नै लगानीमा भवन निर्माण गरेर प्रथम र दोस्रो विश्वयुद्ध लडेका योद्धाहरूको सम्मान गर्दै ती लाहुरेहरूका तस्बिर समेटेर गोर्खा ग्यालरी स्थापना गरे ।
गोर्खा ग्यालरीमा तिनै लाहुरेहरूको वीरताको कथा र गाथाले भरिएका ऐतिहासिक तस्बिरहरू राखिएको छ । उक्त ग्यालरी यति बेला अनुसन्धानकर्ताहरूका लागि अध्ययन केन्द्रको रूपमा विकसित हुन थालेको छ ।
प्रथम र दोस्रो विश्वयुद्ध लडेका तिनै लाहुरेहरूको इतिहासलाई जीवन्त राख्नका लागि भार्सेमा कुल बहादुर बुढाथोकीको पहल र सहयोगमा ग्यालरी निर्माण गरिएको हो ।
भार्सेबाट प्रथम र दोस्रो विश्व युद्ध लड्नेहरूको इतिहासलाई जीवन्त राख्न लाहुरेहरूका तस्बिर राखेर भूपू गोर्खा ग्यालरी र भार्सेबाट गोर्खा, भारत र नेपाली लाहुरेसहित सामाजिक अग्रजहरूलाई समेटेर भार्से ग्यालरी निर्माण गरिएको छ ।
यसले भार्से पुग्ने जोकोहीको लागि पनि सिङ्गो इतिहासलाई नजिकबाट नियाल्न महत्त्वपूर्ण सहयोग पुराउने भार्सेका सामाजिक अगुवा नर बहादुर बुढाथोकीले बताए ।
अहिलेसम्मको प्रमाणको आधारमा भार्सेबाट प्रथम विश्वयुद्ध लड्ने ८४ जना र दोस्रो विश्वयुद्ध लड्ने एक सय ७८ जना रहेको लेफ्टिनेन्ट कुल बहादुर बुढाथोकीले बताए ।
भूपू गोर्खा ग्यालरीमा पहिलो र दोस्रो विश्वयुद्ध लडेका अहिलेसम्म ३४ जना दिवङ्गत व्यक्तिहरूको तस्बिर र संक्षिप्त विवरण राखिएको छ ।
जसमा विश्वमै कम उमेर र नेपालबाट पहिलो भिक्टोरिया क्रस पाउने कर्ण बहादुर रानादेखि भारतीय सेनामा नेपालबाट पहिलो कर्णेल श्रीप्रसाद बुढाथोकी र श्रीप्रसादकै बुबा गिरीप्रसाद बुढाथोकीको तस्बिर राखिएको भार्सेका अगुवा नर बहादुर बुढाथोकीले जानकारी गराएका छन् ।
गिरीप्रसाद र श्रीप्रसाद बुढाथोकी बाबुछोरा नै नेपालका पूर्व मन्त्री हुन । उनीहरू बाबुछोरा एउटै पल्टनबाट विश्वयुद्ध लड्न पुगेका थिए । लेफ्टिनेन्ट कुल बहादुर बुढाथोकीका बुवा मोति बहादुर बुढाथोकी पनि विश्वयुद्ध लडेको हुँदा आफ्नो बुबासहित भार्सेली पुर्खाको इतिहास र पहिचानको लागि ग्यालरी स्थापना गरिएको भार्से जन्मिएर अहिले हङकङमा रहनु भएका लेफ्टिनेन्ट कुल बहादुर बुढाथोकीले बताए ।
उनले आफ्नै अगुवाइमा भार्से भूपू गोर्खा र भार्से ग्यालरी स्थापना गरिइएका हुन । बुढाथोकीले आफैले ग्यालरीको लागि करिब ५७ लाख रुपैयाँ लगानी गरिसकेका छन् । “स्वदेश तथा विदेशमा भार्सेलीको गर्विलो इतिहास भए पनि भार्सेको इतिहास जोगाउन सकिएन, त्यसैले मैले इतिहासलाई जोगाउने प्रत्ययन मात्र गरेको हुँ,” बुढाथोकीले भने ।
भार्से ग्यालरीमा भार्सेली भारतीय, ब्रिटिस, नेपाली सेना, प्रहरी तथा राष्ट्रसेवक कर्मचारीहरू सहित ६८४ जनामध्ये अहिले ४०० जनाको तस्बिर राखिएको छ ।
पछिल्लो समयमा सडक यातायातको सहज पहुँचका कारण भार्से यति बेला आन्तरिक तथा बाह्य पर्यटकहरूका लागि मुख्य पर्यटकीय गन्तव्य स्थलको रूपमा विकसित हुँदै जान थालेको छ ।