© 2026
लमही , १७ भदौ ।
दाङको राप्ती गाउँपालिकामा सोमबार मुक्त कमलरीका लागि निर्माण भएका नीति, बजेट तथा कार्यक्रमबारे छलफल गरिएको छ ।
गाउँपालिकाका उपाध्यक्ष कमलापति चौधरीको तथा मुक्त कमलरी विकास मञ्चकी केन्द्रीय अध्यक्ष हिरामोती चौधरीको विशेष उपस्थितिमा सम्पन्न कार्यक्रममा मुक्त कमलरीको अधिकार सुनिश्चितता, शिक्षा, स्वास्थ्य र रोजगारीको अवसर विस्तार लगायतका विषयमा छलफल गरिएको थियो ।
कार्यक्रममा उपाध्यक्ष चौधरीले मुक्त कमलरीलाई आत्मनिर्भर बनाउन गाउँपालिकाले प्राथमिकता दिँदै आएको उल्लेख गर्दै आवश्यक नीतिगत तथा कार्यक्रमगत सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन ।
त्यसैगरी, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देविराम पाठकले मुक्त कमलरीको पहिचान, सामाजिक सशक्तीकरण र जीवनस्तर उकास्नका लागि सबै सरोकारवालाको सक्रिय सहकार्य अपरिहार्य रहेको बताए ।
छलफल कार्यक्रममा गाउँ कार्यपालिकाका सदस्यहरू, शाखा प्रमुखहरू, मुक्त कमलरी विकास मञ्चका पदाधिकारीहरूको उपस्थिति थियो ।