© 2026
सुर्खेत,१६ भदौ ।
कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले सङ्घ प्रदेश र स्थानीय तहबिचको सम्बन्ध जति सुदृढ हुन्छ, विकास र समृद्धिको गन्तव्यमा पुग्ने बाटो त्यति नै सहज हुने बताएका छन् ।
सहकार्य र समन्वयलाई मजबुत बनाउन सके मात्रै संघियताको मर्म अनुसारको लक्ष्य पुरा हुने उनको भनाइ छ । आज कर्णाली प्रदेश प्रशिक्षण प्रतिष्ठानको प्रशिक्षण परिषद्को तेस्रो बैठकलाई सम्बोधन गर्दै कँडेलले यस्तो बताएका हुन् ।
उनले सङ्घ र प्रदेशले नीति तथा योजना बनाउने भए पनि कार्यान्वयनको वास्तविक स्थान स्थानीय तह भएको औँल्याए । जसको कारण समन्वयलाई प्राथमिकतामा राख्न आवश्यक रहेको कँडेलले उल्लेख गरे ।
कर्मचारी प्रशासनतर्फ सङ्केत गर्दै मुख्यमन्त्री कँडेलले केवल समस्या देखाउने मात्र नभएर समस्याको समाधानका उपाय पनि खोज्ने प्रवृत्ति विकास गर्नु पर्नेमा जोड दिएका छन् ।
‘समस्या देखाउन सजिलो हुन्छ, तर त्यसको समाधानका लागि व्यवहारिक उपाय सुझाउनु अझ महत्त्वपूर्ण हुन्छ,’ उनले भने ‘विधि र कानुनको पालना गर्न सबैलाई कर्तव्य हो ।’
मुख्यमन्त्री कँडेलले प्रदेश सरकारले सुरु गरेको योजना बैकलाई स्थानीय तहले अनुसरण गर्नु पर्ने बताएका छन् ।
विगतको अनुभवबाट सिक्दै, विगतको तजबिजीका आधारमा योजना छनोट गर्ने प्रवृत्तिलाई सुधार गर्दै जानु पर्ने मुख्यमन्त्री कँडेलको भनाई थियो ।
संघीय व्यवस्थालाई प्रभावकारी बनाउन कानुनी स्पष्टता र प्रक्रियागत पारदर्शिता अनिवार्य हुने मुख्यमन्त्री कँडेलको भनाइ थियो ।