Butwal Today

मुटुरोग उपचारका लागि गंगालाल र राप्ती प्रतिष्ठानबीच सहकार्य

१६ भाद्र २०८२, सोमबार
अ+
अ-

लमही, १६ भदौ ।

शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र, बाँसबारी काठमाडौं र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, दाङबीच मुटुरोग उपचार, चिकित्सा शिक्षा तथा अनुसन्धानमा पारस्परिक सहकार्य गर्ने उद्देश्यसहित तीन वर्षे सम्झौता सम्पन्न भएको छ ।

प्रतिष्ठानका रजिष्ट्रार प्रा. डा. श्याम लम्साल र केन्द्रका निर्देशक डा. रवि मल्लबीच सहमतिपत्रमा हस्ताक्षर भएको हो । सम्झौताअनुसार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका विद्यार्थी तथा प्रशिक्षार्थीहरूले गंगालाल हृदय केन्द्रमा ‘क्लिनिकल पोस्टिङ’ तथा तालिममा सहभागी हुने अवसर प्राप्त गर्नेछन् ।

यस सहकार्यले हृदयसम्बन्धी सेवा, शिक्षा र अनुसन्धानलाई थप प्रभावकारी बनाउन दुवै संस्थाबीच प्राविधिक सहयोगको आदान–प्रदान हुनेछ । साथै, शहीद गंगालाल केन्द्रले राप्ती प्रतिष्ठानका लागि हृदय रोगसम्बन्धी रिफरल सेन्टरको भूमिका पनि निर्वाह गर्नेछ ।

सम्झौताअनुसार, विद्यार्थीहरूको प्रयोगात्मक अभ्यास व्यवस्थापनको जिम्मेवारी राप्ती प्रतिष्ठानले लिनेछ । प्रशिक्षण कार्यक्रम सुरु हुनु एक महिनाअघि प्रशिक्षार्थीहरूको कार्यतालिका, सहभागी संख्या र नामावली गंगालाल केन्द्रमा बुझाउनु पर्नेछ ।

अभ्यासका क्रममा प्रयोग हुने उपकरण तथा सामग्रीको प्रयोगको लागि केन्द्रको अनुमति आवश्यक हुनेछ भने त्यसबेला कुनै सामग्री हराएमा वा बिग्रिएमा क्षतिपूर्ति दिने जिम्मा राप्ती प्रतिष्ठानको हुनेछ ।

कार्यक्रम सञ्चालनको समन्वय गंगालाल केन्द्रको निर्देशक कार्यालयसँग गरिनुपर्नेछ । उक्त अभ्यास अधिकतम ६ महिनासम्मको अवधिका लागि हुनेछ, जुन शैक्षिक सत्रअनुसार आर्थिक वर्षमा आधारित हुनेछ ।

यसका साथै, विद्यार्थीहरूले सम्बन्धित विश्वविद्यालय, परिषद् वा आधिकारिक निकायबाट स्वीकृति प्राप्त गरेका कागजात र कर तिरेको प्रमाणपत्र केन्द्रमा बुझाउनु पर्नेछ । अभ्यास सकिएपछि तयार पारिएको प्रतिवेदन केन्द्रमा पेश गर्नु पर्ने प्रावधान पनि सम्झौतामा उल्लेख गरिएको छ ।

भदौ १५, २०८२ बाट लागू हुने यो सहमति २०८५ असार मसान्तसम्मका लागि प्रभावकारी हुनेछ । दुवै पक्षको सहमतिमा सम्झौता नवीकरण गर्न सकिने व्यवस्था गरिएको छ । सम्झौतामा उल्लेखित कुनै पनि प्रावधान संशोधन, परिमार्जन वा हटाउन दुवै पक्षको सहमति अनिवार्य रहनेछ ।

प्रतिष्ठानका सूचना अधिकारी निशानदाजु भट्टराईका अनुसार, मुटु उपचार सेवाका लागि अत्याधुनिक क्याथ ल्याब मेसिन खरिद भइसकेको छ, जसको लागत १० करोड रुपैयाँ रहेको छ । उक्त मेसिन भदौ महिनाभित्र प्रतिष्ठानमा जडान भइ सञ्चालनमा आउने उनले जानकारी दिए ।