© २०२३
दाङ, १५ भदौ ।
दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा न्युरो सर्जरी सेवा प्रभावकारी बन्दै गएको छ । प्रतिष्ठानमा न्युरो सर्जरी सेवा नहुदा बिरामीहरु उपचारका लागि जिल्ला बाहिर जानुपर्ने बाध्यता रहेको थियोे । तर अब प्रतिष्ठानमै सेवा सुरु भएपछि न्युरो सर्जरीको उपचार सहज र सुलभ हुँदै गएको छ ।
नेपालगञ्ज र कोहलपुरका मेडिकल कलेजमा लामो समयदेखि न्युरो सर्जनका रूपमा कार्यरत डा. उपमा शर्माले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सेवा दिन थालेसँगै न्युरो सर्जरीको पहुँच थप बलियो बनेको हो । डा. शर्माले पछिल्लो पाँच महिनामा करिब २ हजार ५ सयभन्दा बढी बिरामीलाई न्युरो सम्बन्धी ओपीडी सेवा प्रदान गरिसकेकी छन् ।
उनका अनुसार प्रतिष्ठानमा अहिले स्पाइन (ढाड) र ब्रेन (मस्तिष्क) सम्बन्धी शल्यक्रिया नियमित रूपमा भइरहेका छन् । न्युरो उपचार प्रायः दीर्घकालीन हुने भएकाले भर्ना भएका बिरामीहरू पूर्ण उपचारपछि घर फर्किएको बताउँदै, अब न्युरो सर्जरीको लागि काठमाडौं वा अन्य सहर जानुपर्ने आवश्यकता नरहेको उल्लेख गरिन् ।
डा. शर्माका अनुसार हालसम्म प्रतिष्ठानमा करिब ६ वटा स्पाइन र ५ वटा ब्रेन सर्जरी सफलतापूर्वक सम्पन्न भइसकेका छन् । सबै बिरामीहरू उपचारपछि घर फर्किएको उल्लेख गरिन् ।
उनका अनुसार प्रतिष्ठानमा स्पाईन सम्बन्धि करिब ६ वटा र गत असार महिनादेखि ५ वटा ब्रेन सम्बन्धि अप्रेसन गरिएको र सबै बिरामी उपचारपछि घर फर्किएका छन । प्रतिष्ठानमा न्युरो सर्जरी सेवामा टाउको, गर्दन, ढाड, हातखुट्टा दुखेको, दुर्घटना वा लडेर टाउको वा ढाडमा चोट लागेको, गर्दन, ढाड, हातखुट्टाको नसा च्यापीएको, पक्षघात (लक्चा, प्यारालाइसीस) वा बेहोस भएको, रगत जमेको (ब्रेम हेमोरेज), छारेरोग (मिर्गि, इपिलेप्सि) वा बेहोस भएको, ब्रेन वा ढाडको ट्युमर भएको, कम्मर दुख्ने, हातखुट्टा झम्झमाउने, पोल्ने, निदाउने र कमजोर भएको सबै उपचार हुने बताइन् ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिस्ट्रार प्रा. डा. श्याम लम्सालले ब्रेन ट्युमरको सफल अपरेशनसँगै दाङमै न्युरो सर्जरी सेवा स्थापनाले दिशा लिएको बताए ।
उनका अनुसार न्युरो सर्जरी सेवा थप सशक्त बनाउन सरकारले १४ करोड रुपैयाँ विनियोजन गरिसकेको छ भने आवश्यक उपकरण खरिदको प्रक्रिया अन्तिम चरणमा पुगेको छ ।
त्यस्तै, प्रतिष्ठानमा मुटु रोग उपचारका लागि १० करोड रुपैयाँको ‘क्याथ ल्याब’ मेसिन खरिद भइसकेको र भदौ महिनाभित्रै जडान हुने जानकारी दिए । साथै, कुल ४ अर्ब ५१ करोड रुपैयाँ लागतमा निर्माण हुने ४०० शैयाको अस्पताल यसै आर्थिक वर्षभित्र निर्माण कार्य प्रारम्भ हुने जानकारीसमेत उनले दिए ।