© २०२३
सुर्खेत, १५ भदौ ।
कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले निर्माणाधीन कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइनको कार्य छिटो सम्पन्न गर्न निर्देशन दिएका छन् ।
उनले बाँकेको कोहलपुरदेखि सुर्खेतसम्म निर्माणाधीन संरचनाहरूको स्थलगत निरीक्षण गर्दै अब कुनै ढिलाइ नगरी कामलाई अन्तिम चरणमा पुर्याउन आयोजनालाई निर्देशन दिएका हुन् ।
मुख्यमन्त्री कँडेलले तिहारसम्म फिल्ड स्तरको सबै काम सम्पन्न गरी विद्युत् सबस्टेशनमा जोड्ने लक्ष्यसहित कार्य अगाडि बढाउन आग्रह गरे । “जनस्तरमा देखिएका अधिकांश समस्या समाधान भइसकेका छन्, मौसमको बहाना देखाएर अब ढिलाइ गर्न पाइँदैन,” उनले भने, “प्रदेश तथा संघीय सरकारबाट आवश्यक निर्णय, समन्वय वा सहयोग आवश्यक परे तत्काल जानकारी गराउनुस् ।”
उनले राष्ट्रिय प्राथमिकतामा परेको यो आयोजनामा देखिएका अवरोधहरू स्थानीय तहमै समाधान गर्न निकुञ्ज र सरोकारवाला निकायहरूलाई सक्रिय हुन निर्देशन दिए । साथसाथै, संस्थागत क्षमता वृद्धि गर्दै कामलाई छरितो र प्रभावकारी ढंगले सम्पन्न गर्न जोड दिए ।
आयोजनाका प्रमुख रवि चौधरीका अनुसार कुल १६२ टावरमध्ये तीनवटा टावर मात्रै निर्माण गर्न बाँकी रहेको छ भने करिब १० किलोमिटर लाइन तान्ने कार्य बाँकी छ ।
बाँकेको बानियाँभार क्षेत्रमा पानीको भरमारका कारण टावरको जग खन्न ढिलाइ भएको हो, तर पानी कम हुनासाथ ती कार्यहरू सम्पन्न गरिने चौधरीले बताए ।
भौगोलिक जटिलताका कारण कतिपय क्षेत्रमा रुख कटान तथा सामग्री ढुवानीमा समस्या देखिएपछि आयोजनाले ड्रोन प्रविधिबाट लाइन तान्ने तयारीसमेत गरेको जानकारी दिएको छ ।
यसअघि बाँकेको बानियाँभार, गाभर र सुर्खेतको सुब्बाकुना क्षेत्रमा देखिएको मुआब्जा विवादका कारण आयोजनामा अवरोध भएको थियो । तर सरकारले राष्ट्रिय प्राथमिकतामा रहेका आयोजनाहरूको हकमा मुआब्जा नीति परिमार्जन गरेपछि समस्या समाधान भएको हो ।
यसैबीच, कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन तिहारसम्म सम्पन्न गर्ने सहमतिसहित बाँकेको चिसापानी गाभरमा सरोकारवालाबीच छलफल सम्पन्न भएको छ ।
छलफलमा वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही, मुख्यमन्त्री यामलाल कँडेल, बाँके राष्ट्रिय निकुञ्ज तथा आयोजनाका प्रतिनिधिहरूको उपस्थिति थियो । मन्त्री शाहीले पनि कार्यलाई तिव्रता दिई तिहारअगावै प्रसारण लाइनको काम सम्पन्न गर्न निर्देशन दिएका छन्।
यो प्रसारण लाइन कोहलपुर (बाँके) बाट सुरु भई सुर्खेतको वीरेन्द्रनगर–११ स्थित सुब्बाकुना सबस्टेसनमा पुगेर टुंगिन्छ, जसको कुल लम्बाइ ५२ किलोमिटर रहेको छ ।