Butwal Today

लैङ्गिक हिंसा रोक्न किशोरीलाई सचेतना

२२ मंसिर २०७९, बिहीबार
अ+
अ-

कपिलवस्तु, २१ मंसिर ।

कपिलवस्तु जिल्लाको यशोधरा गाउँपालिकामा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानका अवसरमा बिभिन्न कार्यक्रम गरिएको छ । “सभ्य समाजको पहिचान लैङ्गिक हिंसा विरुद्धको अभियान” भन्ने मूल नाराका साथ अन्तर्राष्ट्रिय लैङ्गिक हिंसविरुद्धको १६ दिने अभियानका अवसरमा गाउँपालिका कार्यालयमा मर्यादित महिनावारी तथा स्वच्छता सम्बन्धी अन्तक्र्रियासँगै किशोरीलाई सेनेटरी प्याड बनाउने तालिम दिईएको हो ।

यशोधरा गाउँपालिका कार्यालय कपिलवस्तु तथा दलित सामाजिक विकास केन्द्र कपिलवस्तुको संयुक्त आयोजनामा सम्पन्न दिवशको अवसरमा आयोजित कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष शिवदयाल तिवारीले लैङ्गिक हिंसा रोक्न किशोरी किशोरी र युवा पुस्ता सजग हुनु पर्ने बताए ।

कार्यक्रममा स्वास्थ्यकर्मी रिना रैदासले महिनावारी चक्र तथा यससँग सम्बन्धित देखिएका विभिन्न समस्याहरूको बारेमा सहजीकरण गरेकी थिइन् । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष गुञ्जादेवी मौर्य, दलित सामाजिक विकास केन्द्रद्वारा सञ्चालित हाम्रो पहुँच कार्यक्रमकी कार्यक्रम अधिकृत श्रीविन्दबासिनी हरिजन र वरिष्ठ कार्यक्रम अधिकृत गोविन्द धवल लगायतले महिला र किशोरीका सवाल समाधानका लागि खेल्न सकिने भूमिका बारेको सहजीकरण गरेका थिए ।

कार्यक्रममा ६० जना किशोरीले सेनेटरी प्याड बनाउने सिपसँगै आफ्ना सवाल उठान गरेका थिए । कार्यक्रममा सहभागी किशोरीले लैङ्गिक हिंसा न्युनीकरणमा ऐक्यबद्धता जनाउँदै हिंसा र किशोरकिशोरीका सवालमा प्रश्न राखेका थिए । कार्यक्रममा महिनावारीका बेला गरिने विभेदसँगै त्यसयता विभेद बिरुद्धका कानुनी प्रावधान, पुरातन सोचका कारण महिला र किशोरीमा पर्ने नकारात्मक प्रभावबारे गाउँपालिकाका सामाजिक विकास अधिकृत कृष्णनाथ पाण्डेयले अभिमुखीकरण चलाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?