© २०२३
बुटवल, भदौ १५ ।
मार्क्सवादी ज्ञान केन्द्रद्वारा प्रकाशित अनुसन्धानात्मक कृति ‘गणतन्त्र अगाडि र पछाडिको नेपालः तुलनात्मक अध्ययन’ माथि शनिबार बुटवलमा विमर्श गरिएको छ ।
पुस्तकमा गणतन्त्रपछिका भौतिक र सामाजिक विकासका सूचकलाई तथ्यका आधारमा अध्ययन–अनुसन्धान गरिएको छ । पछिल्लो समय युवामा देखिएको निराशा र “अब नेपालमा केही हुँदैन” भन्ने धारणा तोड्ने उद्देश्यले कृति सार्वजनिक गरिएको लेखकले बताएका छन् ।
कार्यक्रममा बोल्दै नेकपा (माओवादी केन्द्र) का सचिव एवम् पूर्व मन्त्री चक्रपाणि खनाल ‘बलदेव’ ले पुस्तकले राजनीतिक परिवर्तनपछिका उपलब्धी उजागर गरेको उल्लेख गर्दै अझै जनजीवनमा अनुभूति हुनेगरी परिवर्तनलाई संस्थागत गर्न बाँकी रहेको बताए । उनले २०६४ सालपछि भएको विकास आशावादी बनाउने खालको भए पनि समाजमा सामन्तवादका अवशेष कायम रहेको टिप्पणी गरे ।
पुस्तकका सम्पादक मनहरि तिमिल्सिनाले नेपालले सामाजिक सूचकमा उल्लेख्य प्रगति गरेको तर सामाजिक मनोविज्ञान भने कमजोर रहेको तर्क प्रस्तुत गरे । उनले नेपालमा केही पनि प्रगति नभएको भन्ने धारणालाई पुस्तकले अस्विकार गरेको स्पष्ट पारे ।
अध्येता लेखक रामचन्द्र श्रेष्ठले संविधान २०७२ ले गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र समावेशितालाई संस्थागत गरे पनि राजनीतिक दलभित्र आन्तरिक लोकतन्त्र अभाव रहेको औंल्याए । उनले दलहरू दलाल पुँजीवादले हाईज्याक गरिरहेको आरोप लगाउँदै असन्तुष्टिलाई अग्रगमनकै प्रक्रिया भनेर बुझ्नुपर्ने धारणा राखे ।
यस्तै अधिवक्ता रक्षाराम हरिजन र लेखक सुमिनालगायतले पुस्तकले देशभित्र र बाहिरका परिवेशमा गणतन्त्रपछिका उपलब्धीलाई तथ्यसहित प्रस्तुत गरेको टिप्पणी गरे ।
विमर्शमा नेकपा (एमाले) का केन्द्रीय सदस्य शिवराज सुवेदी, नेपाली कांग्रेस लुम्बिनी प्रदेशका उपसभापति भुवन श्रेष्ठ, नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य बाबुलाल यादव, नेपाल कम्युनिष्ट पार्टीका पोलिटब्यूरो सदस्य भेषराज भुसालसहित विभिन्न दलका नेताहरुले सहभागिता जनाए । उनीहरूले पुस्तकले तथ्य मार्फत गणतन्त्रपछिको उपलब्धीलाई उजागर गरेको उल्लेख गरे ।
मार्क्सवादी ज्ञान केन्द्रका महासचिव सुदीप न्यौपाने (हुमनाथ) का अनुसार पुस्तकबारे ७ प्रदेशका विभिन्न १० स्थानमा विमर्श कार्यक्रम गरिने छ ।
कृतिको शोध, लेखन तथा सम्पादनमा निमानन्द रिजाल, विशेश्वर कट्टेल, जानुका पराजुली, डा. जन्मजय बन्जाडे, प्रा.डा. सुरेन्द्र गिरी, अशोक पाण्डे, सूर्यबहादुर घिमिरे, मुकुन्द भट्टराई, सम्झना वाग्ले भट्टराई, डा. रूमा मानन्धर र दीपक सापकोटा संलग्न रहेका छन् ।