बर्दघाट ।
मिर्गौला पीडित बचाउ महा अभियानमा विभिन्न समूह सङ्घ संस्थाहरूले निरन्तर रूपमा सहयोग गरिरहेका छन् । बर्दघाट नगरपालिका वडा नम्बर १४ मा रहेको शहीद स्मृति सामुदायिक अस्पताल चौपत्तामा डायलिसिस सेवा कार्य सञ्चालन आर्थिक सङ्कलन अभियानमा योग साधना केन्द्रबाट समेत सक्रिय सहभागिता रहेको छ ।
आज बिहान बर्दघाट नगरपालिका वडा नम्बर १४ मा गङ्गा बस्ती योग साधना केन्द्रका सदस्यहरू सक्रिय रूपमा घरदैलो अभियानमा जुटेर आर्थिक सङ्कलन गरेका छन् । नगर प्रमुख शम्भुलाल श्रेष्ठको अगुवाईमा वडा नम्बर १४ मा आज गङ्गा बस्तीबाट सहयोग सङ्कलन अभियान सुरु गरिएको हो ।
नगरप्रमुख श्रेष्ठले सेवा सञ्चालनका लागि अस्पतालमा सिस्टम जडान र आवश्यक पूर्वाधार निर्माणको काम भइरहेको र जानकारी दिँदै उल्लेख्य रूपमा नागरिकहरू अभियानमा जोडिएको बताए ।
डायलिसिस गर्न टाढा टाढा जानू पर्ने,समयमा पालो नपाइने,आर्थिक चाप लगायतका झन्झट बाट समेत बिरामीहरु मुक्त हुने मिर्गौला प्रत्यारोपण गरेका स्थानीय माधव तिवारीले बताए ।”यो पीडा मैले अनि म जस्ता थुप्रैले भोगेका छौ, मानसिक तनाव त छद छ अझ अन्यत्र धाउनु पर्दा त्यसले दिने पीडा छुट्टै छ, यो योजना पश्चिम नवलपरासी बासीकै लागि वरदान साबित हुनेछ” तिवारीले भने ।
अभियानमा अस्पताल विकास केन्द्रका अध्यक्ष पदाधिकारी र महा अभियान कार्यदलका सदस्यहरूको सहभागिता रहेको थियो । स्थानीयलाई घर आगनमै डायलिसिस सेवा प्रदान गर्नका लागि नगर प्रमुख श्रेष्ठले यो अवधारणा ल्याएका हुन ।