© २०२३
रुपन्देही, १४ भदौ ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आगामी भदौ १५ गते रुपन्देही आउने भएका छन् ।
माओवादी केन्द्र लुम्बिनी प्रदेश कमिटीका अध्यक्ष सुदर्शन बरालका अनुसार प्रचण्डले आइतबार बिहान १० बजे शहीद स्मृति प्रतिष्ठानको कार्यालयमा आयोजित विशेष समारोहमा स्व. राम प्रसाद बन्जाडे ‘टङ्कमणि’को सालिक अनावरण गर्ने कार्यक्रम रहेको छ ।
सोही अवसरमा ‘टङ्कमणि : एक क्रान्तिविज’ नामक पुस्तकको विमोचनसमेत प्रचण्डबाट हुने छ । माओवादीले सुरु गरेको सशस्त्र विद्रोहको सुरुवात देखि नै भूमिगत रहेर काम गरेका बन्जाडे २०७८ साल मङ्सिर ८ गते सडक दुर्घटनामा परि ५५ वर्षको उमेरमा ज्यान गुमाएका थिए उनै टङ्कमणि बन्जाडे माओवादी केन्द्रका केन्द्रीय सदस्य मात्र नभई लामो समयदेखि रुपन्देहीका इन्चार्जको जिम्मेवारी बहन गर्दै आएका नेता थिए ।
पार्टी र जनआन्दोलनका क्रममा दिएको योगदानको स्मरण स्वरूप सहिद स्मृति प्रतिठान रुपन्देहीमा माओवादी केन्द्र रुपन्देहीले उनको सालिक निर्माण गरेको छ । उनको सालिक अनावरण र जीवन कथामूलक पुस्तक विमोचन गर्न लागिएको माओवादी केन्द्रले जनाएको छ ।
यस्तै, भदौ १५ कै दिन प्रचण्डले माओवादी केन्द्रको प्रदेश कमिटी बैठकमा पनि सहभागी हुने कार्य तालिका रहेको अध्यक्ष बरालले जानकारी दिए । उनले भने, “अध्यक्ष प्रचण्ड दिनभर रुपन्देहीमै रहने छन् । बिहान सालिक अनावरण र पुस्तक विमोचनपछि पार्टीका आन्तरिक बैठक तथा छलफलमा उहाँ सहभागी हुनुहुनेछ ।”