© २०२३
जनकपुरधाम, १३ भदौ ।
प्रतिपक्षी दलहरूको निरन्तर अवरोधका कारण मधेश प्रदेशसभाको बैठक अनिश्चितकालका लागि स्थगित गरिएको छ । अर्थमन्त्री सुनिल कुमार यादवको राजीनामा माग्दै विपक्षी दलहरूले शुक्रबारको बैठक समेत सञ्चालन हुन दिएनन् ।
बैठक अवरुद्ध गर्दै नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक जवाहरलाल कुशवाहाले वर्तमान आर्थिक वर्ष २०८२/०८३ को बजेट त्रुटिपूर्ण र बिचौलियामुखी रहेको आरोप लगाउँदै त्यसको जिम्मेवारी अर्थमन्त्रीले लिनुपर्ने माग गरे ।
उनले बहुमतको बलमा बजेट पारित गरिए पनि त्यो न्यायसंगत नभएको जिकिर गर्दै, अर्थमन्त्रीको राजीनामा नभएसम्म सदन चल्न नदिने स्पष्ट पारे ।
उनको भनाइपछि नेपाली कांग्रेसका प्रमुख सचेतक कुमारकान्त झाले प्रतिपक्षी दलहरूको व्यवहारप्रति आपत्ति जनाउँदै प्रतिक्रिया दिए । उनले सर्वदलीय बैठकमा नआउने, तर सदनमा अवरोध गर्ने कार्य विपक्षीहरूको गैरजिम्मेवार रवैया भएको टिप्पणी गरे ।
सदनमा जारी अवरोध र तीव्र विवादका बीच सभामुख रामचन्द्र मण्डलले बैठक अर्को सूचना नआएसम्मका लागि स्थगित गरेका छन् ।
दुई दिनदेखि प्रतिपक्षी दलहरूले सभामुखद्वारा बोलाइएका सर्वदलीय बैठकहरू समेत बहिष्कार गर्दै आएका छन् । उनीहरूले बजेट बहसका क्रममा सभामुखले तटस्थ भूमिका नखेलेको आरोप पनि लगाएका छन् ।
सरकारले प्रस्तुत गरेको बजेटलाई ‘बिचौलिया हावी भएको’ भन्दै प्रतिपक्षी दलहरू असन्तुष्ट छन् । उनीहरूको बहिष्कारबीच बहुमतले बजेट पारित गरिएको थियो । यही असन्तोषका कारण बिहीबारदेखि प्रदेशसभाको छैठौं अधिवेशन अवरुद्ध भइरहेको छ ।
सदनमा अवरोध गर्ने रणनीतिमा रहेका प्रतिपक्षी दलहरूमा जनता समाजवादी पार्टी (जसपा) नेपाल, नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), नेपाल संघीय समाजवादी पार्टी, राप्रपा नेपाल र नागरिक उन्मुक्ति पार्टी रहेका छन् ।