© २०२३
भैरहवा, १३ भदौ ।
जनता समाजवादी पार्टी (जसपा) नेपाल, रुपन्देहीको आयोजनामा भैरहवामा भूमि विधेयक विरुद्ध वृहत् विरोध प्रदर्शन तथा सभा सम्पन्न भएको छ ।
भैरहवाको हनुमान मन्दिरबाट सुरु भएको विरोध ¥याली बजारका विभिन्न भाग परिक्रमा गर्दै मिलनचोकमा पुगेर कोणसभामा परिणत भएको थियो । विरोध सभामा जसपाका नेता तथा कार्यकर्ताहरूले सरकारले ल्याएको भूमि विधेयकले भूमिहीन, सुकुम्वासी र किसानहरूको अधिकार हनन गर्ने आरोप लगाएका छन् ।
वक्ताहरूले भूमि विधेयकले सुकुम्वासीहरूलाई बसोबास गरेको स्थानबाट विस्थापित गर्ने, भूमिमाथिको उनीहरूको अधिकार खोस्ने र दलाल तथा भूमाफियाहरूलाई फाइदा पुग्ने गरी ल्याइएको दाबी गरे ।
उनीहरूले तत्काल विधेयक खारेज गर्नुपर्ने र वास्तविक भूमिहीनलाई उनीहरूको अधिकार सुनिश्चित गर्नुपर्ने माग राखेका छन् । विरोध सभालाई सम्बोधन गर्दै जसपाका लुम्बिनी प्रदेश अध्यक्ष राम अवतार यादवले जसपाले भूमि विधेयकको विरोध गर्दा पार्टीका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवलाई फसाउन खोजिएको आरोप लगाए ।
उनले विधेयक जस्ताको त्यस्तै पारित भए गौचरण, बन जङ्गल लगायत केही पनि सुरक्षित नहुने बताउँदै जसपाले यसको सधैँ विरोध गर्ने बताए ।
नेताहरूले सरकारले जनविरोधी कदम चालेको भन्दै यस्ता विधेयक विरुद्ध थप कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
उनीहरूले भूमि विधेयक सच्याएर मात्रै सरकारले अगाडि बढ्नुपर्नेमा जोड दिएका छन् । विरोध कार्यक्रममा जसपा रुपन्देहीका अध्यक्ष सियाराम यादव, केन्द्रीय सदस्य रिता यादव, नीलम यादव, कैलाश गुरुङ्ग, प्रदेश कोषाध्यक्ष विद्या प्रसाद यादव, प्रदेश कार्यकारिणी सदस्य बछुलाल केवट लगायत स्थानीय तहका नेता, कार्यकर्ताले कोण सभामा आफ्नो भनाइ राखेका थिए ।