© २०२३
गुल्मी, १३ भदौ ।
लगातारको वर्षाका कारण बाढी र पहिरोका कारण गुल्मीमा दुई मुख्य सडकहरू कालीगण्डकी कोरिडोर र रिडी–वामीटक्सार सडक खण्ड अवरुद्ध बनेका छन् ।
कालीगण्डकी कोरिडोर सडक अन्तर्गत जिल्लाको कालीगण्डकी गाउँपालिका –२ स्थित राक्सेमा सडक माथिबाट पहिरो खसेपछि शुक्रबार बिहानदेखि उक्त सडक पूर्ण रूपमा अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
त्यसै गरी वर्षाका कारण गुल्मीको रिडी–वामीटक्सार सडक खण्ड पनि आज बिहानदेखि अवरुद्ध बनेको छ । उक्त सडक खण्ड अन्तर्गत सत्यवती गाउँपालिका –६ स्थित डहरे खोलामा सडक माथिबाट लेदो सहितको बाढी आएपछि बिहान ५ः५० बजेदेखि उक्त सडक पनि पूर्ण रूपमा अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक भुपेन्द्र थापाले जानकारी दिएका छन् ।
लगातारको वर्षाका कारण अवरुद्ध बनेका दुवै सडकहरू बिहीबार बेलुकी मात्र एकतर्फी रूपमा सञ्चालनमा आएको दश घण्टा नबित्दै पुनः अवरुद्ध बनेका हुन । सडक अवरुद्ध भएसँगै अहिले कालीगण्डकी कोरिडोर र रिडी –वामीटक्सार क्षेत्रमा दुवैतर्फका सवारी साधनहरू बिच बाटोमै अलपत्र परेका छन् ।
अवरुद्ध सडक सञ्चालन गर्न स्थानीय सडक निर्माण कम्पनी र गाउँपालिकाको सहयोगमा डोजर र एक्स्काभेटर तयारी अवस्थामा राखिएको छ । पानी परिरहेको कारण पहरो हटाउन समस्या परेको प्रहरीले जनाएको छ ।
उक्त सडकहरु बर्सादको समयमा पटक पटक बन्द हुँदा त्यस क्षेत्रका नागरिकहरूले ठुलो सास्ती बेहोर्दै आइरहेका छन् । जिल्लामा तीन दिनदेखि लगातार मध्यम वर्षा भइरहेको छ ।
वर्षा भइरहेको कारण कुनै पनि समयमा जोखिम उत्पन्न हुनसक्ने भन्दै जिल्ला प्रशासन कार्यालयले खोलाको तटीय क्षेत्र र पहिरोको जोखिम क्षेत्रका नागरिकहरूलाई सतर्कता अपनाउन र सुरक्षित स्थानमा बसोबास गर्न आग्रह गरेको छ ।