Butwal Today

नेपालगञ्जमा ५० वर्ष माथिका महिलाको दौड प्रतियोगिता

१२ भाद्र २०८२, बिहीबार
अ+
अ-

नेपालगञ्ज, १२ भदौ ।

नेपालगञ्जमा पहिलोपटक हजुरआमाहरु एकसाथ दौडिने भएका छन् । नेपालगञ्जबाट प्रकाशन हुँदै आएको दैनिक नेपालगञ्ज पत्रिकाको १५औँ वार्षिकोत्सवको अवसरमा ५० वर्ष माथिका महिलाहरूको विशेष दौड प्रतियोगिता आयोजना हुन लागेको हो ।

सम्यक मिडिया हब प्रालिद्वारा सञ्चालित दैनिक नेपालगञ्ज १५ वर्ष प्रवेशसँगै पत्रिकाले आफ्नो सामाजिक उत्तरदायित्वलाई पनि जोड्ने उद्देश्यका साथ “दौडिन्छन् हजुरआमा ः गोल्डेन ग्रयान्ड माँ परियोजना” सुरु गर्न लागेको हो ।

परियोजना संयोजक सजल गैरेका अनुसार प्रतियोगिता यही भदौ २१ गते शनिबार बिहान साढे ७ बजे नेपालगञ्जको विपी चौकबाट सुरु भई धम्बोझी चौकमा पुगेर समापन हुनेछ ।

उनले भनिन्, “दैनिक नेपालगञ्जको आयोजना, नाट्टा बाँके च्याप्टरको सहआयोजना र नेपालगञ्ज म्याराथनको सहकार्यमा यो कार्यक्रम हुन लागेको हो । यसले समाजमा हजुरआमाहरूको भूमिका मात्र होइन, उनीहरूको जीवनमा ऊर्जा र आत्मविश्वास थप्ने अपेक्षा गरिएको छ ।”

यसै सन्दर्भमा सम्यक मिडिया हब प्रालिले बिहीबार नेपालगञ्जमा महिला सांसद, नागरिक समाजका प्रतिनिधि तथा समाजसेवीहरूसँग विशेष छलफल गरेको थियो । छलफलमा सहभागी संघीय सांसद दिपा शर्माले पछिल्लो समय सन्तान विदेशिने होडसँगै आमा–हजुरआमाहरू मानसिक तनावमा परेको उल्लेख गर्दै भनिन्, “यस्ता किसिमका प्रतियोगिताले उनीहरूलाई खुशी दिने मात्र होइन, आत्मबल बढाउने काम पनि गर्छन् । यो सकारात्मक कदमलाई निरन्तरता दिनुपर्छ ।”

प्रदेश सांसद मिना श्रेष्ठले पनि प्रतियोगिता सुन्नासाथ आफूमाथि उत्साह भरिएको बताइन् । अहिले ६० वर्ष उमेर पार गरिसकेकी उनले आफू पनि प्रतियोगितामा सहभागी हुने प्रतिबद्धता व्यक्त गर्दै भनिन्, “हजुरआमा भनेर घरमै बस्नु पर्दैन भन्ने सन्देश यो दौडले दिनेछ । म पनि दौड्न तयार छु ।”

यसैगरी, पूर्व जनप्रतिनिधि महिलाहरूले समेत यो पहललाई सराहना गर्दै चासो देखाएका छन् । नेपालगञ्जमा पहिलोपटक हजुरआमाहरूका लागि आयोजना गरिएको यो दौड प्रतियोगिता केवल खेलकुद मात्र नभई सामाजिक सद्भाव, मानसिक स्वास्थ्य र महिलाको आत्मबल अभिवृद्धि गर्ने अभियानका रूपमा समेत लिइएको छ ।