© २०२३
हिमाल र पहाडबाट सुविधा खोज्दै सहर झर्ने क्रम बढेसँगै पछिल्लो समय गाउँहरू रित्तिने अवस्था झनै बढेको छ । पछिल्लो समय गाउँबाट सहर र हिमाल तथा पहाडबाट तराई झर्ने ‘ट्रेन्ड’ नै बनेको छ ।
शिक्षा, स्वास्थ्य, पूर्वाधार र रोजगारीको खोजीमा सहर झर्ने क्रम बढिरहेकोले पहाड अव खाली हुने हो कि भन्ने चिन्ता समेत थपिएको छ । जनसङ्ख्या सम्बन्धी पछिल्ला तथ्याङ्कले मुलुकमा तीव्र बसाइसराइको क्रम नरोकिए पहाडका बस्ती उजाड बन्ने मात्र होइन, पुर्ख्यौली थातथलोमा सहाराविहीन ज्येष्ठ नागरिकको मात्रै बसोबास रहने स्थिति देखिएको छ ।
प्रतिवेदनले पहाडी क्षेत्रबाट तराई र सहरी क्षेत्र तथा सहरी क्षेत्रबाट विदेश बसाइसराइ गर्ने क्रम तीव्र भएको देखाएको छ । विज्ञहरूले बसाइसराइको यही अवस्था रहेमा नेपालमा यो ठुलो सामाजिक समस्या बन्ने चेतावनी दिएका छन् ।
वि.सं. २०४६ सम्म पहाडी क्षेत्रमा बसोबासको चाप रहे पनि त्यसपछि भने त्यहाँको चाप क्रमशः तराईतर्फ सर्न थालेको देखिएको छ । यो अवस्था कायमै रहे नेपालमा अव केही बर्षभित्रैमा पहाड रित्तिने अवस्था हुनेछ ।
त्यसै पनि नेपालको पहाडी क्षेत्रका घरमा बसाइसराइले गर्दा मानिस बस्नै छोडेपछि भत्किने अवस्थामा पुगेका छन् । खेती गर्ने जमिन बाझिएका छन् । पहाडका कला संस्कृतिले सजिएका पुराना घर भूतबंगला बन्ने अवस्था आएको छ ।
पहाड र हिमालमा रहेको बसोबासमध्ये ८० प्रतिशत प्राकृतिक प्रकोपको जोखिममा रहेकोले पनि बसाइसराइको क्रममा वृद्धि भएको तथ्याङ्कले देखाउँछ । यो भनेको सरकारले पहाडी बसोबासको क्षेत्र जोगाउन नसक्दाको परिणाम हो भन्दा अन्यथा हुँदैन ।
पहिरो आदिका कारण पुराना पानीका मुहान सुक्ने अवस्था बढिरहेको छ । जसका कारण मानिसहरू पानी नपाएकै कारण पुर्ख्यौली गाउँ छोड्ने प्रवृत्ति बढेको छ । कृषिमा आधुनिकीकरण हुन नसक्नु, जनसङ्ख्याको १७ प्रतिशत अझै गरिबीमा रहनु लगायतका कारणबाट पहाडबाट बसाइसराइको अवस्था बढेको भन्दा अत्युक्ति हुँदैन ।
विज्ञहरूले बसाइसराइको अर्को प्रमुख कारण प्राकृतिक प्रकोपलाई देखाएका छन् । निश्चित रूपमा पहाडमा पहिरोले बस्ती नै सखाप भएको अवस्था सबैभन्दा ठुलो चुनौती हो । बाढी र पहिरो तथा भूकम्पका कारण बसाइँ सर्ने क्रम बढ्नु भनेको बस्ती सुरक्षित नहुनु नै हो ।
आफ्नो जीवनस्तर उठाउने व्यक्तिगत चाहनाका नाममा सामाजिक, आर्थिक, शैक्षिक तथा वित्तीय पहुँचका लागि सदरमुकाम वा राजधानीतिर सर्ने प्रवृत्तिले पनि बसाइसराइका लागि प्रेरित गरेको छ ।
समग्रमा विदेशबाट आउनेभन्दा नेपालबाट विदेश जाने नेपालीहरूको सङ्ख्या बढेको छ । नेपालमा प्रजनन दर तथा घट्दो मृत्युदर र जनसङ्ख्या वृद्धिदरका कारण वृद्धको सङ्ख्या वृद्धि हुँदै जाने हो भने आगामी २५ वर्षपछि नेपाल पनि जापानमा जस्तै बुढ्यौलीहरूको देश बन्ने अवस्था आउन सक्छ ।
आन्तरिक बसाइसराइ अत्यधिक हुँदा मुलुकमा जनसङ्ख्या वितरण असन्तुलित बन्दै गएको देखिएको छ । जनसङ्ख्या वितरणमा तराई क्षेत्रको हिस्सा ठुलो दरमा बढ्दो छ । विज्ञका अनुसार शिक्षा, स्वास्थ्य, पूर्वाधार सहित रोजगारीका लागि हिमाल र पहाडको जनसङ्ख्या तराईतिर सर्दै छ ।
जनसङ्ख्या वितरण थप असन्तुलित बन्दै गए भविष्यमा विकास वितरण र आर्थिक, राजनीतिक तथा सामाजिक व्यवस्था समेत प्रभावित हुने जोखिम छ । वैवाहिक कारणले हुने बसाइसराइ आर्थिक वा सेवा–सुविधाको कारण नभई सांस्कृतिक विशेषता समेत हो ।
त्यसपछि बसाइसराइको प्रमुख कारण शिक्षा, रोजगारी जस्ता अवसर खोजी नै रहेको देखिन्छ । त्यसमा पनि धनी र सम्पन्न वर्गभन्दा गरिब र विपन्न वर्गमा बसाइसराइ उच्च हुने गरेको छ ।
बढ्दो आन्तरिक र बाह्य बसाइसराइले पार्ने आर्थिक र सामाजिक असरको विषयमा समेत अव अध्ययन हुनु जरुरी छ । हिमालबाट सहरी र तराई क्षेत्र तथा विदेशमा बसाइसराइ बढ्दो भएकोले यसको कारण र न्यूनीकरणका उपाय खोजी गर्नेतर्फ पहल आवश्यक छ । सरकारले यसमा ठोस पहल गरोस् ।