© 2026
गुल्मी, ९ भदौ ।
निर्माण व्यवसायिद्वारा सडक निर्माणको काममा ढिलासुस्ती भएको भन्दै मदनभण्डारी राजमार्ग अन्तर्गत सिमलटारी–सौतामारे–मच्छी सडकखण्डमा संयुक्त अनुगमन गरिएको छ । गुल्मीको सिमलटारीदेखि सौतामारे हुँदै प्यूठानको मच्छीसम्म ३१ कलोमिटर सडक निर्माणको जिम्मा श्रेष्ठ सक्षम जेभीले लिएको छ । २०७९ कार्तिक ५ गते एक अर्ब ४५ करोड ३३ हजार लागतमा ३१ किलोमिटर सडक निर्माणको सम्झौता गरिएको थियो ।
उक्त सडकमा ३३ महिनाको अवधिमा निर्माण कम्पनीबाट जम्मा २६ प्रतिशत भौतिक र २३ प्रतिशत वित्तीय प्रगति गरेको मदन भण्डारी राजमार्ग योजना कार्यालय गुल्मीका ईन्जिनियर प्रभात तिवारीले जानकारी दिएका छन् । लामो समयसम्म पनि सडक निर्माणको कामले गति नलिएको, निर्माणको काम निकै सुस्त गतिमा भैरहेको, समयमा काम सम्पन्न नगरेको र सडक अलपत्र परेको भन्दै त्यस क्षेत्रका नागरिकहरूबाट पटक–पटक गुनासो आईरहेको छ । उक्त गुनासो आएपछि गुल्मीका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद कोईरालाको नेतृत्वमा स्थानीय मदाने गाउँपालिका र मदनभण्डारी राजमार्ग कार्यालयको संयुक्त टोलीले त्यस क्षेत्रको सडकको स्थलगत अनुगमन गरि कामको प्रगति र अवस्थाको बारेमा जानकारी लिएको थियो ।
अनुगमनको क्रममा कटिङ्को काम अन्तिम चरणमा पुगेको, स्टक्चरको काम अन्तर्गत ग्याविन, प्लम, कँङ्क्रिट र मेशनरीको केही काम गरेको भए पनि काम निकै सुस्त गतिमा अघि बढेको निष्कर्ष निकालेको छ । सडकको सववेस, वेस र अस्फाल्ट प्रविधिबाट कालोपत्र लगायतका धेरै काम गर्न बाँकी रहेको बताइएको छ ।
निर्माण व्यवसायीले वर्षायाम भनेर अहिले पहिरो पन्छाउने मात्र काम गरेको छ । गुल्मी र प्यूठान खण्डमा सडक हिल्याम्मे भएको कारण मानिसहरूलाई यात्रा गर्न ठूलो समस्या परेको भन्दै नागरिकहरूले कार्यालय र पालिकाहरूमा पटकपटक गुनासो गर्ने गरेको मदाने गाउँपालिका अध्यक्ष महेन्द्र बहादुर कुँवरले बताए । त्यसै कारण उक्त सडकको अनुगमन गर्न र निर्माण व्यवसायीलाई उत्तरदायी बनाउन समन्धित कार्यालयहरूमा आफूले कुरा राख्दै आएको अध्यक्ष कुँवरले बताए ।
मदनभण्डारी राजमार्ग कार्यालयले पनि निर्माण व्यवसायीलाई कामको गति बढाउनका लागि निरन्तर रूपमा ताकेता गर्दै आएको ईन्जीनियर तिवारीले बताए । उनले त्यसका लागि जिल्ला प्रशासन र स्थानीयतहसँग समन्वय र छलफल गर्ने काम भैरहेको जानकारी दिए । तर जति ताकेता गर्दा पनि विभिन्न वहाना बनाउँदै निर्माणको काममा सुस्तता देखिएको बताईएको छ । व्यवसायीले राम्रोसँग काम गरेको खण्डमा २०८३ असार मसान्तसम्म उक्त सडक निर्माण सम्पन्न गर्ने कार्यालयको लक्ष्य रहेको छ ।
यस सम्बन्धमा निर्माण व्यवसायीको तर्फबाट काम गरिरहेका ईन्जिनियर किसन शाहका अनुसार आर्थिक समस्याका कारण काममा ढीलाई हुन गएको बताएका छन् । उनले पुस मसान्त र असार मसान्तमा कार्यालयबाट भुक्तानी पाउन ढिला भएको कारण पनि बैकिङ् कारोवार गर्न समस्या भएको कारण काममा असर परेको बताए ।
अहिले सडकमा कटिङ्को काम गरिरहेको र त्यसका रेट कम भएको हुँदा आर्थिक प्रगति कम भएको उनले तर्क गरे । म्याद थपको लागि प्रक्रिया अघि बढेको भन्दै ईन्जिनियर शाहले दुई वर्षमा काम सम्पन्न गर्नेे बताएका छन ।
दुई जिल्लाको लागि ठूलो महŒव बोकेको उक्त योजना निर्माणको काम कछुवा गतिमा अघि बढ्दै जाँदा त्यस क्षेत्रका नागरिकहरूको चाँडै कालो र चिल्लो सडकमा यात्रा गर्ने सपना यतिबेला अपुरै बनेको छ ।