© २०२३
बुटवल, ८ भदौ ।
बुटवलटुडे मिडिया ग्रुपले आइतबार ‘लैङ्गिक समानता, अपाङ्गता तथा सामाजिक समावेशिता नीति २०८२’ सार्वजनिक गर्दै कार्यान्वयनको घोषणा गरेको छ । हिन्दु महिलाहरुको महान चाड हरितालिका तीजको अवसर पारेर आयोजित विशेष समारोहमा उक्त नीतिलाई औपचारिक रूपमा लागू गरिएको हो ।
समूहका अध्यक्ष हरिप्रसाद पौडेल, सञ्चारिका समूहकी लुम्बिनी प्रदेश अध्यक्ष अमृता अनमोल र रुपन्देही जिल्ला अध्यक्ष मिना ढकालले सामूहिक रूपमा नीति कार्यान्वयनको घोषणा गरेका थिए । यसअघि नै कार्यालयमा कर्मचारी नियमावली लागू भएको बताउँदै प्रबन्ध सञ्चालक तथा प्रवन्ध सम्पादक नवराज कुँवरले संस्थाभित्रका तीनवटै मिडियामा लैङ्गिक नीति लागू हुने जानकारी दिए । उनले बुटवल टुडे काठमाडौं बाहिरकै सबैभन्दा ठूलो मिडिया हाउस भएको दाबी गर्दै “एक मिडिया, एक पत्रकार” को सिद्धान्त अपनाउन पनि आग्रह गरे ।
कार्यक्रममा बोल्दै बुटवल टुडे मिडिया ग्रुपका अध्यक्ष हरिप्रसाद पौडेलले संस्थाभित्र मात्र नभई सम्पूर्ण मिडिया क्षेत्रमा लैङ्गिक समानता र समावेशिता अनिवार्य रूपमा लागु गर्नुपर्ने आवश्यकता औंल्याए ।
त्यसैगरी, सञ्चारिका समूहकी अध्यक्ष अमृता अनमोलले अधिकांश मिडिया संस्थाले अझै पनि लैङ्गिक नीति कार्यान्वयन नगरेको तथ्य सार्वजनिक गर्दै बुटवलटुडे मिडिया ग्रुपले सुरु गरेको यो पहल उदाहरणीय भएको बताइन् । कानुनले तोकेको ३३ प्रतिशत महिलाको सहभागिता, साथै सिमान्तकृत र अपाङ्गता भएका व्यक्तिहरूको आरक्षण सुनिश्चित गर्नुपर्नेमा उनले जोड दिइन् ।

अनमोलले पत्रकारहरूको अनुभव साझा गर्दै महिलालाई आवश्यक बिदा व्यवस्थापन नहुँदा मिडियामा उनीहरूको संख्यामा गिरावट आएको बताइन् । उनले लुम्बिनी प्रदेशका सात वटा मिडिया हाउसमा पहल थालिएको भए पनि औपचारिक रूपमा नीति कार्यान्वयन गर्ने बुटवल टुडे पहिलो भएको स्पष्ट पारिन् ।
“यो नीति महिलामात्रका लागि होइन, पुरुषलाई समेत सहयोगी हुनेछ । संरचना, भाषा र पहुँचका हिसाबले सबैलाई लाभ पुग्नेछ,” उनले दाबी गरिन् । बुटवल टुडेले आइतबार तीज मिलन कार्यक्रम समेत सम्पन्न गरेको छ ।