Butwal Today

वाणगंगामा सुनचाँदी पसलबाट २२ लाख रुपैयाँ बराबरको धनमाल चोरी

८ भाद्र २०८२, आइतबार
अ+
अ-

जितपुर, भाद्र ८ ।

कपिलवस्तुको वाणगंगा नगरपालिका–७ स्थित बनगाईमा रहेको अर्घाखाँची सुपा देउराली सुनचाँदी पसलमा गए राति चोरी भएको छ ।

पसल सञ्चालक केशव सुनारका अनुसार चोरले करिब ८ तोला सुन, ३ किलो चाँदीसहित कुल २२ लाख रुपैयाँ बराबरको धनमाल चोरी गरेका छन् । बिहान पसल खोल्दा चोरी भएको थाहा पाएपछि सुनारले तत्काल प्रहरीलाई जानकारी दिएका थिए ।

सूचना पाएको केहीबेरमै ईलाका प्रहरी कार्यालय पिपराबाट प्रहरी टोली घटनास्थलमा पुगेको थियो । प्रहरी निरीक्षक लोकेन्द्र जिसीले घटनाको प्रारम्भिक अनुसन्धान सुरु भइसकेको जानकारी दिएका छन् ।

स्थानीय बासिन्दाहरूका अनुसार राति असामान्य गतिविधि देखिए पनि चोरको पहिचान खुल्न सकेको छैन । प्रहरीले शंकास्पद व्यक्तिहरूमाथि सोधपुछ गरिरहेको र वरपर रहेका सीसीटिभी फुटेज संकलन गरेर अनुसन्धानलाई तीव्रता दिएको जनाएको छ ।

लगातार दोहोरिरहने चोरीका घटनाले वाणगंगा क्षेत्रमा पुनः सुरक्षा सम्बन्धी चुनौती उब्जिएको छ । स्थानीय व्यापारीहरूले प्रहरी प्रशासनसँग सुरक्षा व्यवस्थामा कडाइ गर्न र निगरानी प्रणालीलाई प्रभावकारी बनाउन माग गरेका छन् ।