© 2026
बर्दिया, ८ भदौँ ।
बर्दिया राष्ट्रिय निकुञ्जमा सञ्चालन हुँदै आएको जिप सफारी सेवा अस्थायी रूपमा बन्द भएको छ । निरन्तरको वर्षाका कारण निकुञ्ज भित्रका करिब १ सय ५० किलोमिटर सडक बिग्रिएपछि मर्मत सम्पन्न नभएसम्मका लागि सेवा रोकिएको निकुञ्जको प्रशासनका अधिकारीले जानकारी गराएका छन् ।
निकुञ्जका सूचना अधिकारी एवं वरिष्ठ सहायक संरक्षण अधिकृत सरोजमणि पौडेलका अनुसार सडकमा रुख ढलेको र कतिपय भागमा आवतजावत नै अवरुद्ध भएको छ । “करिब एक महिनाभित्र मर्मत कार्य पूरा गरी पुनः जिप सफारी सञ्चालन गर्ने तयारी छ,” पौडेलले जानकारी दिए । उनका अनुसार पर्यटकलाई असुविधा नहोस् भनेर हाल पथप्रदर्शक मार्फत पैदल अवलोकन गराइँदैछ ।
सफारी रोकिँदा पर्यटन व्यवसायी भने मर्कामा परेका छन् । पर्यटन व्यवसायी रामजी बाबु थापाले वर्षायाममा पर्यटक संख्या घट्ने गरे पनि आउनेहरूले प्रायः जिप सफारी रोज्ने भएकाले निकुञ्जले तत्काल सडक मर्मतमा गति दिनुपर्ने बताएका छन् ।
गत आर्थिक वर्ष २०८१/८२ मा बर्दिया राष्ट्रिय निकुञ्जमा २८ हजार ६८ स्वदेशी तथा विदेशी पर्यटक प्रवेश गरेका थिए । तीमध्ये १९ हजार १० नेपाली, १ हजार ५४० सार्क मुलुकका तथा ७ हजार ५१८ अन्य विदेशी पर्यटक रहेका छन् । निकुञ्जमा आउने अधिकांश पर्यटकको आकर्षण दुर्लभ वन्यजन्तु बाघ, गैंडा र हात्ती हुन् । हाल निकुञ्जमा १२५ बाघ, १२० हात्ती र ३८ गैंडा रहेका छन् । तीमध्ये केही गैंडा सीमावर्ती भारतको कतरनिया वन्यजन्तु आरक्षमा समेत पुगेका छन् ।
निकुञ्जभित्र जिप सफारी र पैदल अवलोकन मुख्य आकर्षण भए पनि बाहिरी क्षेत्रमा करिब ३० होटल र २० होमस्टे सञ्चालनमा छन् । साथै, खाता जैविक मार्ग, पत्थरबोझी, थारु संग्रहालय, गोही–घडियाल प्रजनन केन्द्र लगायत स्थल पनि पर्यटकको रोजाइमा परेका छन् ।