Butwal Today

प्रचण्डलक्षित जनार्दनको कटाक्ष- शेषनागले काँध फेर्दैमा पृथ्वी हल्लिँदैन

७ भाद्र २०८२, शनिबार
अ+
अ-

काठमाडौँ ।

नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’प्रति लक्षित गर्दै शेषनागले पृथ्वी बोक्ने कुरा दन्ते कथा भइसकेको टिप्पणी गरेका छन्।

शनिबार काठमाडौँमा आयोजित प्रकाश विकल्पको पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै उनले शेषनागले पृथ्वी कहीँ पनि नबोकेको जिकिर गरे।

‘शेषनागले कहीँ पृथ्वी बोकेको पनि छैन, शेषनागले पृथ्वी बोकेको पनि हुँदैन। त्यो त दन्ते कथा हो,’ शर्माले भने, ‘शेषनागले पृथ्वी बोकेको छ, त्यसले यसो हल्लाइदियो भने भूकम्प आउँछ भन्ने त दन्तेकथा हो। आज त विज्ञानले अर्कै पुष्टि गरिसक्यो। त्यसकारणले यो पृथ्वी चल्छ, केही ढल्दैन।’

बुधबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले देशको राजनीतिको खाँबो आफूले छोडिदिएँ गर्ल्यामगुर्लुम्म ढलिहाल्छ की जस्तो लाग्ने गरेको बताएका थिए। शर्माले उनको नाम नलिकन उनको भनाइप्रति कटाक्ष गरेको देखिन्छ।

‘हुनतः म सरकारको नेतृत्वमा पनि छैन, प्रमुख प्रतिपक्ष दलको नेता छु,’ प्रचण्डले भनेका थिए, ‘तर यस्तो लाग्छ- देशको राजनीतिको खाँबो मैले छोडिदिएँ भने भत्किहाल्छ की? गर्ल्यामगुर्लुम्म ढलिहाल्छ की जस्तो लाग्छ। पूरै जिम्मा मेरै काँधमा भएको जस्तो।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?