Butwal Today

निर्माण व्यवसायीहरूबिच अन्तरप्रदेशीय व्यावसायिक छलफल

६ भाद्र २०८२, शुक्रबार
अ+
अ-

बुटवल, ६ भदौ ।

विभिन्न प्रदेशका निर्माण व्यवसायीबीच आपसी सहकार्य, व्यवसायिक हकहितको संरक्षण र सम्बन्ध विस्तार गर्ने उद्देश्यका साथ रुपन्देहीमा अन्तरप्रदेशीय व्यवसायिक छलफल सम्पन्न भएको छ।

शुक्रवार मोरङ, सुनसरी र कोशी प्रदेश निर्माण व्यवसायी संघका अध्यक्ष तथा पदाधिकारीहरूको टोली रुपन्देही आइपुगेको थियो। सो अवसरमा भैरहवामा आयोजित छलफल कार्यक्रममा निर्माण व्यवसायीहरूको संरक्षणका लागि आवश्यक प्रयासबारे विचार–विमर्श भएको लुम्बिनी निर्माण व्यवसायी संघले जनाएको छ।

छलफलमा सहभागी पदाधिकारीहरूले प्रदेश र जिल्लास्तरमा निर्माण व्यवसायीहरूले भोग्नुपर्ने समस्या, प्रशासनिक प्रक्रियामा देखिने चुनौती, निर्माण कार्यको गुणस्तर, ठेक्का प्रक्रिया र व्यवसायिक सुरक्षाबारे आफ्ना विचार राखेका थिए।

साथै, निर्माण क्षेत्रमा देखिने अनियमितता, ढिलासुस्ती र प्रतिस्पर्धामा देखिने अस्वस्थ अभ्यास रोक्न संयुक्त रूपमा कदम चाल्नुपर्नेमा सहभागीहरूले जोड दिएका थिए।

कार्यक्रममा निर्माण व्यवसायी संघका केन्द्रीय उपाध्यक्ष टोपबहादुर रायमाझी, लुम्बिनी निर्माण व्यवसायी संघ रुपन्देहीकी अध्यक्ष मञ्जु भुसाल, संघका सल्लाहकार जवीन कक्षपति लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

संघका अनुसार भेटघाट तथा छलफल कार्यक्रमले दुई जिल्ला, शाखा र प्रदेशबीच आपसी भाइचारा, सहकार्य र सम्बन्ध विस्तार गर्ने अवसर प्रदान गरेको छ । साथै, निर्माण व्यवसायी क्षेत्रलाई अझ सशक्त र प्रभावकारी बनाउन सकिने उपायहरूबारे समेत छलफल गरिएको थियो ।