© २०२३
लमही ,६ भदौ।
दाङ तुलसीपुरका मोबाइल व्यवसायी दुर्गा भुषाललाई आत्महत्या गर्न दुरुत्साहन गरेको आरोपमा पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक सूर्य रानाका अनुसार पक्राउ परेकाको नाम भने सार्वजनिक गरिएको छैन । यस प्रकरणमा अन्य व्यक्तिहरु पनि संलग्न हुन सक्ने आशंका प्रहरीले गरेको छ । भुषालले लेखेको सुसाइड नोटका आधारमा उनीहरुलाई पक्राउ गरिएको बताइएको छ । पक्राउ पर्ने मध्ये माओवादी केन्द्रका एक स्थानीय नेता समेत रहेको स्रोतले जानकारी दिएको छ ।
प्रहरीका अनुसार भुषालको आत्महत्याको कारण आर्थिक लेनदेनसँग जोडिएको हुनसक्छ । करिब तीन करोड रुपैयाँ लिनुपर्ने रकम आउन नदिन सो माओवादी नेताले भूमिका खेलेको आरोप लागिएको छ ।
केही महिना अघि आर्थिक समस्याका कारण मृत्यु भएका तुलसीपुरकै एक व्यवसायीले भुषाललाई तीन करोड रुपैयाँभन्दा बढी दिनुपर्ने उल्लेख गर्दै सुसाइड नोट छाडेका थिए । त्यसको आधारमा रकम दिने सहमति भए पनि सो सहमति कार्यान्वयन हुन नसकेको, र सोही विवादका कारण भुषालले आत्महत्या गर्न बाध्य भएको बुझिएको छ ।