© 2026
समाचार सारांश
साबिक त्रिवेणी सुस्ताको भू–भागलाई लुम्बिनी प्रदेशको सुस्ता गाउँपालिकामा गाभ्नुपर्ने माग उठाइएको छ ।
संविधान जारी हुँदा साबिक त्रिवेणी सुस्ता गाविसको दुई वडा (त्रिवेणीधाम र गण्डक ब्यारेज क्षेत्र) गण्डकी प्रदेशको विनयी त्रिवेणी गाउँपालिकामा गाभिएको थियो ।
जसको कारण अहिले ती दुई वडाका जनतालाई आफ्नै गाउँपालिका कार्यालय पुग्न पनि ४० किलोमिटर लामो यात्रा गर्नुपरेको छ ।
नवलपरासी, ०६ भदौ ।
साबिक त्रिवेणी सुस्ताको भूमिलाई लुम्बिनीकै सुस्ता गाउँपालिकामा गाभिनुपर्ने माग गाउँपालिकाले गरेको छ । सुस्ता गाउँपालिकाको गाउँ सभाले नै निर्णय गर्दै हाल गण्डकी प्रदेशको विनयी त्रिवेणीको दुई वटा वडा सुस्तामा गाभेर लुम्बिनी प्रदेशमा राखिनु पर्ने माग राष्ट्रपति समक्ष राखिएको गाउँपालिका अध्यक्ष टेकनारायण उपाध्यायले जानकारी गराएका हुन् ।
गत वर्ष जिल्ला सभाले समेत विनयी त्रिवेणीको त्रिवेणी धामलाई लुम्बिनी प्रदेशमा राख्ने गरी सङ्घीय मन्त्रालयमा पठाएको थियो । संविधान संशोधन गर्दा समस्या झेल्दै आएका त्रिवेणीधाम बासीको समस्या समाधानका लागि माग गरिएको थियो ।
विगतमा पनि सुस्ता गाउँपालिका ७ वटा वडा बन्ने गरी नक्सांकन भएको थियो, अध्यक्ष उपाध्यायले भनेपछि संविधान घोषणा हुने क्रममा २ त्रिवेणी धाम र गण्डक ब्यारेज सहितको दुई वडाका भूमि विनयी त्रिवेणीमा गाभिएको थियो ।
सुरुमा त्यहाँका केही बासिन्दाले गण्डकी प्रदेशमै राखिएकोमा खुसी ब्यक्त गर्दै दीपावली गरेको भए पनि अहिले सास्ती भोग्न परेको महसुस गर्न थालेका छन् ।
उता लुम्बिनी प्रदेश र गण्डकी प्रदेश दुई भागमा विभाजित हुन पुगेका त्रिवेणी धामका बासिन्दाले दुम्किबास—त्रिवेणी सडक नबने लुम्बिनी प्रदेशमै फर्कनका लागि संघर्ष गर्न बताउँदै आएका छन् ।
दुम्किबास—त्रिवेणी सडकलाई भारतीय नाकासँग जोड्ने गरी साबिक त्रिवेणी सुस्ता गाविसका बासिन्दालाई लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा विभाजित गरिएको थियो तर हालसम्म सो सडक नबन्दा सास्ती झेल्दै आएका छन् ।
जिल्लाको सुस्ता गाउँपालिकासँग जोडिएको पूर्वी नवलपरासी (नवलपुर) बिनयीत्रिवेणी गाउँपालिकाका दुई वटा वडाका जनतालाई अहिले राज्य पुनर्संरचनाले दुर्गम बनाएको महसुस हुन थालेको बताएका थिए ।
राज्य पुनर्संरचना हुँदा साबिक नवलपरासीलाई दुई जिल्लामा टुक्राएर विनयी त्रिवेणी गाउँपालिकाका दुई वडा चुरे डाँडाको दक्षिण तर्फको भागलाई मिसाइँदा हाल यी दुई वटा वडाका जनतालाई दुर्गमको जिल्ला जस्तै सास्ती बेहोर्न परेको उनीहरूको दुखेसो छ ।
गण्डकी प्रदेशमा राखिएको विनयी त्रिवेणी गाउँपालिकाको दक्षिणी दुई वडाका जनतालाई आफ्नै दम्किबास स्थित गाउँपालिका पुग्न पनि पश्चिम नवलपरासीको सुस्ता, प्रतापपुर गाउँपालिका हुँदै बर्दघाट नगरपालिका भएर जानुपर्ने बाध्यता बनेको छ ।
विनयी त्रिवेणी गाउँपालिकाको दम्किबास पुग्नका लागि ४० किलोमिटर पूर्वपश्चिम राजमार्ग भएर जानुपर्ने बाध्यता रहेको स्थानीय आरपी उपाध्यायले बताएका थिए । साबिक त्रिवेणी सुस्ता गाविसलाई टुक्र्याएर केही भाग लुम्बिनी प्रदेशको सुस्ता गाउँपालिका र केही भाग गण्डकी प्रदेशको बिनयीत्रिवेणी गाउँपालिकामा राखियो ।
स्थानीय जनतालाई केही नेताको स्वार्थ बस गण्डकी प्रदेशमा राखियो र अहिले सुगमका जनता दुर्गमको जस्तै समस्या बेहोर्न बाध्य भएका छन् । भारतसँग नाका खोल्ने स्वार्थले अभिप्रेरित गण्डकी प्रदेशका नेताहरूले साबिक त्रिवेणी सुस्ता गाविसका केही भाग टुक्र्याएर गण्डकी प्रदेशमा समावेश गरे र अहिले ती दुई वडाका जनतालाई सास्तीको कारण बनेको छ ।
दुम्किबासबाट चितवन निकुञ्ज हुँदै दम्किबास—त्रिवेणी सडक बनाई गण्डक ब्यारेजको उपयोग गरी भारतीय नाकासँग गण्डकी प्रदेश जोड्ने काम त भयो । तर निकुञ्ज भित्र सडक नबन्दा अहिले यी दुई वडाका जनतालाई आफ्नै गाउँपालिका पुग्न सास्ती बेहोर्न परेको छ ।
निकुञ्ज विश्व सम्पदामा परेको क्षेत्र हो । नेपालले मात्रै चाहेर पनि निकुञ्ज भित्र केही गर्न सक्ने अवस्था छैन । केही अन्तर्राष्ट्रिय प्रावधानलाई पालना गर्नुपर्ने हुन्छ । वन्यजन्तुको सुरक्षा अवस्थालाई हेरेर निकुञ्ज भित्र सडक बनाउन निकुञ्जले दिन्छ भन्ने लाग्दैन ।
गण्डकी प्रदेश सरकारले यदि ती सडक बनाउन सक्दैन भने संशोधन प्रस्ताव ल्याएर बिनयीत्रिवेणीका दुई वडालाई लुम्बिनी प्रदेश भित्र राख्न दिनुपर्छ । जसले यहाँका जनतालाई राहत हुन्छ । गण्डकी प्रदेश होस वा लुम्बिनी सबै नेपाली जनता हुन । प्रदेश सरकारको स्वार्थका लागि नेपाली जनतालाई सास्ती दिनुपर्ने मान्यतालाई त्याग गर्नुपर्छ ।
संविधान अनुसार एक दशकसम्म संरचना हेरफेर गर्न नपाउने प्रावधान अनुसार यहाँका जनता चुप लागेर बसेका छन् । संविधान संशोधन हुने कुरा उठ्ने हुँदा यस क्षेत्रका दुई वटा वडालाई लुम्बिनी प्रदेशमै राख्न दिनुपर्छ । त्रिवेणी–दुम्कीबास सडकमा निकुञ्ज बाधक बनेको छ ।
लुम्बिनी प्रदेशको बर्दघाट हुँदै करिब ४० किमी यात्रा गर्नुपर्छ भने यो सडक सञ्चालनमा आएमा २१ किमीमा पालिका र वडा जोडिने छ । नवलपुर—गण्डकी प्रदेशलाई भारतसँग जोड्ने एक मात्र नाका पूर्वी नवलपरासीको विनय त्रिवेणी गाउँपालिकाको त्रिवेणी ब्यारेज हो ।
२०६२ सालमा ट्याक खोलिएको त्रिवेणी बहुवन खण्डमा काम हुन नसक्दा प्रदेश सरकारको गौरवको आयोजना नै अलमलमा छ । त्रिवेणीदेखि पूर्वपश्चिम राजमार्गसम्मको करिब २१ किलोमिटर सडक खण्डमा २०६४ सालमा सवारी साधन सञ्चालन हुन्थे ।
तर, निकुञ्जले ७ किमी आफ्नो क्षेत्रमा पर्ने भन्दै काममा रोक लगाएपछि सवारी साधन पनि ठप्प भएका थिए । साबिकको त्रिवेणी सुस्ता, नयाँ बेलहानी र दम्किबास गाविसको पहलमा बहुवनदेखि गजेन्द्रमोक्ष धामसम्म ११ किमी सडकको ट्याक खोल्ने काम स्थानीयले गरेका थिए ।
निकुञ्जले युनेस्कोमा सूचीकृत भएकाले अनुमति लिनुपर्ने भन्दै केन्द्र सरकार र निकुञ्जले यो कामलाई अगाडि बढाउन चासो नदिएको स्थानीयको गुनासो छ ।
निकुञ्जले ती क्षेत्रबाट सडक बनाउन दिन्छ भनी लागेको छैन, गाउँपालिका अध्यक्ष उपाध्यायले भने, सडकको आसमा ती दुई वडाका जनतालाई सास्ती दिनु हुँदैन, उनीहरूलाई लुम्बिनी प्रदेशमै राखेर सहज सेवा दिनका लागि सुस्ता गाउँपालिकामा बिनयीत्रिवेणीको दुई वटा वार्ड गाभिनु पर्ने माग सुस्ता गाउँ सभाले महसुस गरी संशोधनका लागि माग पत्र पठाएको छ ।
यसमा विनयीवित्रेणी गाउँपालिकाले समेत सहमति जनाइदिनु पर्छ । नाका स्वार्थले गण्डकी प्रदेश सरकारले पनि जनतालाई बन्धक बनाउने कार्य ठिक नभएको उनको भनाइ थियो । अन्तर्राष्ट्रिय नाका कुनै प्रदेशको हुँदैन, उनले प्रश्न गर्दै भने, अहिले लुम्बिनी प्रदेशले पनि चीनसँग नाका पाउनुपर्ने त भनेको छैन ?